नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह झापाबाट चुनाव लड्ने चर्चामाथि कडा व्यङ्ग्य गरेका छन्। आगामी संसदीय निर्वाचनमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट बालेन उम्मेदवार बन्ने अड्कलबाजी चलेपछि बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन्।
बस्नेतले आफ्नो टिप्पणीमा उखान प्रयोग गर्दै ‘स्याललाई काल आयो भने बजार छिर्छ’ भन्दै बालेनको सम्भावित उम्मेदवारीलाई व्यङ्ग्य गरे। उनले काठमाडौंमा असफल मेयरका रूपमा जनमत गुमाइसकेको, सामाजिक सञ्जालमा मात्रै लोकप्रिय देखिने र विदेशी शक्तिको मतियार बनेको व्यक्ति झापाबाट चुनाव लड्ने चर्चा सुन्नु परेको उल्लेख गरेका छन्। यदि यो चर्चा सत्य भएमा निर्वाचनमा बालेनले लज्जास्पद पराजय भोग्ने उनको दाबी छ।
बस्नेतले बालेनले आफ्नो जन्मथलो महोत्तरीमै राजनीतिक प्रभाव विस्तार गर्न नसकेको आरोप पनि लगाएका छन्। उनले बालेनलाई ‘फेसबुकिया प्रधानमन्त्री’को संज्ञा दिँदै सामाजिक सञ्जालको प्रचार मात्रै भर पर्नु राजनीतिक रूपमा पर्याप्त नहुने टिप्पणी गरेका छन्। झापाबाट चुनाव लड्ने विषय सत्य ठहरिएमा गायकबाट राजनीतिमा प्रवेश गरेका बालेनको राजनीतिक जीवन समाप्त भई पुनः पुरानै पेसातर्फ फर्किनुपर्ने अवस्था आउने चेतावनी पनि उनले दिएका छन्।
पछिल्लो समय सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा मेयर बालेन शाहले आगामी निर्वाचनमा एमाले अध्यक्ष ओलीविरुद्ध झापा–५ बाट प्रतिस्पर्धा गर्न सक्ने अड्कलबाजी बढ्दै गएको छ। यही चर्चालाई आधार बनाएर पूर्वमन्त्रीसमेत रहेका एमाले नेता बस्नेतले बालेनको राजनीतिक भविष्यप्रति गम्भीर प्रश्न उठाउँदै कडा टिप्पणी गरेका हुन्।
