• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

टासी ल्हाजोमलाई अर्को झट्का, रास्वपाको बन्दसूचीबाट ‘आउट’


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसूचीमा एक महत्वपूर्ण संसोधनका रुपमा टासी ल्हाजोमको नाम काटिएको खुलेको छ । उनी आदिवासी जनजाती महिलाको क्लस्टरमा पहिलो नम्बरमा थिइन् ।

रास्वपाले केही दिनअघि आफ्नो बन्दसूचीमा व्यापक संसोधन गर्दा टासीको नाम झिकिएको निर्वाचन आयोग र रास्वपा स्रोतले पुष्टि गरेका छन् । उनको झिकिनुको स्पष्ट कारण खुलेको छैन । यद्यपि, उनीसँग सम्वन्धित ठूलै विवादास्पद विषयवस्तुको प्रमाण आएपछि यो निर्णय लिइएको रास्वपा स्रोत बताउँछ ।

कानूनतः उम्मेदवार आफैंले नाम फिर्ता लिन निवेदन दिएको अवस्थामा बाहेक बन्दसूचीबाट कसैलाई हटाउन मिल्दैन । रास्वपाको बन्दसूचीमा रहेका थुप्रै उम्मेदवारले सामाजिक सञ्जालबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका थिए । तर, कसैले पनि निवेदन नदिएको आयोग स्रोत बताउँछ ।

यद्यपि, रास्वपाले आफ्नै हिसाबले बन्दसूचीमा फेरबदल गरेको आयोग स्रोतको भनाइ छ । फिर्ता हुन नचाहेका केही उम्मेदवार पनि बन्दसूचीबाट निकालिएका छन् । यही कारणले संसोधित बन्दसूची अहिलेसम्म गोप्य राखिएको पार्टी स्रोत बताउँछ ।

टासीको हकमा उनले फिर्ता हुन चाहेकी थिइनन् । उनीसँग सम्वन्धित विवादित विषयबारे रास्वपाले आयोगलाई अवगत गराएको थियो । त्यसपछि आयोग पदाधिकारी नाम हटाउन तयार बनेको स्रोतको भनाइ छ । टासीले भने यसमा असन्तुष्टि जनाएकी छन् । उनले अस्ति पार्टी कार्यालयमा सभापति रवि लामिछानेलाई भेटेकी थिइन् ।

लाभको पदमा पुग्नै लाग्दा टासीले झट्का खेपेको यो दोस्रोपटक हो । यसअघि उनको नाम सुशीला कार्की सरकारको मन्त्रीका रुपमा चर्चामा आएको थियो । उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा लगभग फाइनल नै भएकी थिइन् । तर, उनको नागरिकता लगायतका विषयहरु विवादास्पद देखिएपछि प्रधानमन्त्री कार्की आफ्नो निर्णयबाट पछि हटिन् ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले टासीलाई तिब्बती शरणार्थी भन्दै उनको नेपाली नागरिकतामा प्रश्न उठाएका थिए । जेनजी कर्णालीले समेत उनलाई मन्त्री बनाइएमा बहिष्कार गर्ने चेतावनी दिएको थियो । जेनजी कर्णाली अध्यक्ष सुप्रिया शाहीले टासी फ्रि तिब्बत अभियानमा संलग्न रहेको विषयमा छानविनको मागसमेत राखेकी थिइन् ।

टासी रास्वपामा औपचारिक प्रवेश गरेर प्राइमरी इलेक्सनमा पनि भाग लिएकी थिइन् । उनले राम्रै मत पनि ल्याइन् । जेनजी उमेरको भनिएकी उनलाई बन्दसूचीमा प्राथमिकता दिएर पहिलो नम्बरमा राखिएको थियो । नाम नहटेको भए उनी समानुपातिक सांसद बन्ने सम्भावना निकै बलियो थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖