• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

डडेल्धुरामा रास्वपाको उम्मेदवार सागर ढकाल नै हुन् :बालेन


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले डडेलधुराबाट सागर ढकाललाई पार्टीको उम्मेदवारका रूपमा अघि सार्ने घोषणा गरेका छन्। उनले डडेलधुराका पार्टी प्रतिनिधिहरूसँगको भेटमा ढकाललाई उम्मेदवार बनाउने स्पष्ट घोषणा गरेका हुन्।

यद्यपि, रास्वपाले अहिलेसम्म औपचारिक रूपमा कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाइसकेको छैन। पार्टीले गठन गरेको उम्मेदवार सिफारिस समिति अझै सक्रिय रहेको र सिफारिस प्रक्रिया बाँकी नै रहेको अवस्थामा वरिष्ठ नेताबाट उम्मेदवार घोषणा भएपछि पार्टीभित्र चर्चा सुरु भएको छ।

पार्टीको औपचारिक निर्णयअघि नै उम्मेदवार घोषणा भएपछि सागर ढकाल खुसी देखिएका थिए। यसअघि पनि बालेन्द्र साहकै सिफारिसमा उनी रास्वपाको केन्द्रीय सदस्य बनेका थिए। अघिल्लो निर्वाचनमा डडेलधुराबाट उम्मेदवारी दिइसकेकाले उनलाई ‘टुरिस्ट उम्मेदवार’ भन्न नमिल्ने बालेनको तर्क थियो।

ढकाललाई उम्मेदवार घोषणा गर्दै बालेनले भने, “उहाँ डडेलधुराबाट उम्मेदवार हो कि होइन भन्नेमा कुनै कन्फ्युजन छैन। कन्फ्युजन त रास्वपाले डडेलधुराको उम्मेदवार पाउँछ कि पाउँदैन भन्ने हो। उहाँ आफैँले नउठ्ने निर्णय नगरेसम्म डडेलधुराको उम्मेदवार सागर ढकाल नै हो।”

बालेनका अनुसार अघिल्लो निर्वाचनमा ढकालले पार्टी नहुँदा पनि उल्लेख्य मत प्राप्त गरेका थिए। “त्यतिबेला उहाँसँग पार्टी थिएन, सरकार बनाउने सम्भावना थिएन। अहिले फरक परिस्थिति छ—पार्टी छ, सरकार बनाउने सम्भावना छ। संसद् पुगेपछि बोल्ने मात्र होइन, काम पनि गर्न सकिन्छ,” उनले भने।

बालेनले डडेलधुरामा ढकालको पक्षमा सक्रिय प्रचार गर्न पार्टी कार्यकर्तालाई आग्रह पनि गरेका छन्। उनका अनुसार अब मतदाताको सोच परिवर्तन हुँदै गएको छ र सरकार बनाउने सम्भावना बोकेको दलका उम्मेदवारलाई प्राथमिकता दिने प्रवृत्ति बलियो बन्दैछ।

डडेलधुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो। सो जिल्लाको एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट देउवाले निरन्तर जित हासिल गर्दै आएका छन्।

अघिल्लो निर्वाचनमा सागर ढकालले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उक्त निर्वाचनमा देउवाले २५ हजार ५३४ मत प्राप्त गरी विजयी हुँदा ढकालले १३ हजार ४३ मत ल्याएर दोस्रो स्थान हासिल गरेका थिए। पेशाले इन्जिनियर रहेका ढकाल यसपटक पार्टीको बलियो समर्थनसहित चुनावी मैदानमा उत्रने तयारीमा देखिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖