विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीका निर्णय र विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा औपचारिक पहल गरेको छ। सहमहामन्त्री डिला संग्रौलाका अनुसार आज बसेको केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरू तथा पार्टीसम्बन्धी विवरण अद्यावधिक गर्न सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायतका नेताहरू आयोग पुगेका हुन्।
डिला संग्रौलाका अनुसार केन्द्रीय समितिको बैठकले पार्टीका सम्पूर्ण विवरण अद्यावधिक गर्ने निर्णय गरेकाले सोही निर्णयअनुसार निर्वाचन आयोगलाई जानकारी गराउन र आवश्यक कागजात बुझाउन नेतृत्व आयोग पुगेको हो। उनले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले कानुनी र प्रक्रियागत दायित्व पूरा गर्न पहल थालेको बताइन्।
बुधबार सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो। विशेष महाधिवेशन पक्षधरले विधानअनुसार महाधिवेशन आयोजना गरिएको दाबी गर्दै त्यसबाट भएका निर्णयलाई वैधानिक मान्यता दिलाउन आयोगमा विवरण बुझाउन थालेका हुन्।
यसैबीच, शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले भने पार्टीको कुनै विशेष महाधिवेशन नभएको दाबी गर्दै यसअघि नै निर्वाचन आयोगमा पत्र पठाइसकेको छ। देउवा पक्षको पत्र पठाइनुअघि नै विशेष महाधिवेशन पक्षधरले आयोगमा महाधिवेशन भइरहेको व्यहोराको जानकारी गराइसकेका थिए।
दुवै पक्षबाट आयोगमा फरक–फरक दाबी पेश भइसकेपछि नेपाली कांग्रेसभित्र आधिकारिकता सम्बन्धी विवाद थप चर्किएको छ। अब कांग्रेसको वैधानिक नेतृत्व कुन पक्षलाई मान्यता दिने भन्ने विषयमा निर्वाचन आयोगको निर्णय निर्णायक हुने देखिएको छ।
