धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कुनै पनि पार्टीमा आबद्ध नहुने बताएका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएर २०७९ काे निर्वाचनमा मेयरमा विजयी भएका हमालले जनताकाे म्यान्डेटअनुसार पाँच वर्ष नगरबासीकाे सेवा गर्ने बताउदै कुनै पार्टीमा आवद्व नहुने बताएका हुन् ।
सामाजिक सञ्जालमा हमाल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा प्रवेश गर्दै प्रतिनिधि सभा सदस्यकाे उम्मेदवार बन्ने प्रचारबाजी भएपछि उनले भ्रममा नपर्न समेत अनुराेध गरेका छन् ।
“मैलै कुनै पार्टी प्रवेश गर्ने योजना बनाएको छैन । मलाई धनगढीका मतदाताले पाँच वर्षका लागि स्वतन्त्र मेयरका रुपमा निर्वाचित गराएका हुन्,” उनले भने, “म धनगढीबासीले दिएको जिम्मेवारी र विश्वासलाई इमानदारितापूर्वक पूरा गर्ने प्रयासमा छु । पाँच वर्ष पूरा नहुँदासम्म म कुनै पनि राजनीतिक दलमा लाग्नेछैन् ।”
हमालले जनताले दिएको जिम्मेवारी र देखाएको विश्वासमा घात नगर्ने स्पष्ट बताउदै विभिन्न ढंगले आएका निराधार कुरामा विश्वास नगर्न पनि अनुरोध गरे ।
“मलाई जनताले स्वतन्त्र मेयर भनेर जिताएका हुन् । म जनाताको म्यान्डेटअनुसार २०८४ को स्थानीय चुनावसम्म स्वतन्त्र नै रहेर काम गर्छु,” उनले भने,”अहिले कुनै पनि पार्टी प्रवेश गर्ने योजना छैन । सामाजिक सञ्जालमा आएका कुराकाे पछि नलाग्न सबैमा मेरो अनुरोध छ ।”
केही दिनदेखि मेयर हमाल रास्वपा प्रवेश गर्न लागेकाे भन्दै केहीले उनकाे फाेटाेसहित प्रचार गरिररहेका थिए ।
