काठमाडौ । पूर्वमन्त्री तथा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट कपिलवस्तु क्षेत्र नम्बर ३ मा एकल उम्मेदवारका रूपमा सिफारिस भएका नेता बीरेन्द्रकुमार कनौडिया नेकपा एमालेमा प्रवेश गरेका छन्। शनिबार दिउँसो काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट उनले पार्टी सदस्यता ग्रहण गरेका हुन्।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज बलाराम अधिकारीले कनौडियाको एमाले प्रवेश भएको पुष्टि गरेका छन्। स्रोतका अनुसार कांग्रेसभित्रको आन्तरिक किचलो र एमालेबाट क्षेत्र नम्बर ३ मा उम्मेदवारीको सुनिश्चिततापछि कनौडियाले पार्टी परिवर्तन गरेको बताएका छन्। कांग्रेसको विवादमा अल्झिनुभन्दा एमालेमा गएर राजनीति गर्ने निर्णय लिएको कुरा उनले आफ्ना निकटवर्तीहरूलाई बताएका छन्।
कनौडिया यसअघि लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता थिए। संघीय सरकारमा मन्त्री भइसकेका उनी प्रदेश सभामार्फत मुख्यमन्त्री बन्ने प्रयासमा थिए, तर त्यो अवसर प्राप्त गर्न सकेका थिएनन्। पछिल्लो समय कांग्रेसको विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका कनौडियाले अन्तिम समयमा उक्त हस्ताक्षर फिर्ता लिएका थिए।
यद्यपि कपिलवस्तु क्षेत्र नम्बर ३ मा एमालेबाट टिकटको ग्यारेन्टी गरिएको भन्ने चर्चा भए पनि एमाले नेताहरूले त्यसबारे औपचारिक निर्णय नभएको बताएका छन्। एमाले कपिलवस्तु इन्चार्ज बलाराम अधिकारीले कनौडियाको पार्टी प्रवेश सत्य भए पनि उम्मेदवारीको विषयमा हालसम्म कुनै निर्णय नभएको स्पष्ट पारे। पार्टीमा प्रवेश गरेपछि जिम्मेवारी तय हुने उनको भनाइ छ।
२०७९ सालको निर्वाचनमा यसै क्षेत्रबाट तराई केन्द्रित दलका मंगलप्रसाद गुप्तालाई एमालेमा प्रवेश गराएर पार्टीले जित हासिल गरेको थियो। तर हाल गुप्ता बिरामी रहेकाले उम्मेदवार नहुने घोषणा गरिसकेका छन्। यसैबीच कांग्रेस क्षेत्रीय समितिबाट एकल उम्मेदवार सिफारिस गरिएका कनौडियाको विरोधमा सोही क्षेत्रका नेता अभिषेक प्रताप शाहले केन्द्रमा निवेदन दिएका थिए। कनौडियाले गगन थापाको पक्ष छाडेर हस्ताक्षर फिर्ता लिएको सूचना पाएपछि शाह गगन थापा पक्षमा खुलेका थिए।
