काठमाडौं महानगरपालिकाका निर्वार्तामन मेयर बालेन शाह को एक भिडियो सार्वजनिक भएपछि त्यसलाई लिएर राजनीतिक बहस चर्किएको छ। भिडियोमा बालेन विद्यालय पोसाकमा रहेका बालबालिकासँग हात मिलाउँदै देखिएका छन्। यही भिडियोलाई आधार बनाएर नेकपा एमालेका सचिव महेश बस्नेत ले कडा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै बस्नेतले चुनाव र राजनीतिमा बालबालिकाको प्रयोग गैरकानुनी र अनैतिक भएको दाबी गरेका छन्। उनले नेपालको संविधानको धारा ३९, बालबालिका सम्बन्धी ऐन २०७५ तथा निर्वाचन आचारसंहिताले बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गर्न स्पष्ट रूपमा निषेध गरेको उल्लेख गरेका छन्।
“बालबालिकाको ठाउँ विद्यालय हो, राजनीतिक भिड होइन,” भन्दै बस्नेतले बालबालिकालाई चुनावी हतियार बनाउने प्रवृत्ति लोकतन्त्रकै अपमान भएको टिप्पणी गरेका छन्। उनले बालेनले गरेको यो गतिविधि तुरुन्त रोकिनुपर्ने मागसमेत गरेका छन्।
बस्नेतको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आउन थालेको छ। कतिपयले बालअधिकार र कानुनी पक्षको कुरा उठाउँदै उनको टिप्पणीलाई समर्थन गरेका छन् भने केहीले उक्त तस्वीरलाई सामान्य भेटघाट, सम्मान र प्रेरणामूलक क्षणका रूपमा व्याख्या गर्दै आलोचनालाई राजनीतिक पूर्वाग्रह प्रेरित भनेका छन्।
यस विषयमा बालेन शाहको तर्फबाट औपचारिक प्रतिक्रिया आएको छैन। तर चुनावी माहोल तातेको अवस्थामा बालबालिका, राजनीति र निर्वाचन आचारसंहितासम्बन्धी बहस फेरि एकपटक राष्ट्रिय चर्चाको केन्द्रमा आएको छ।
