उज्यालो नेपाल पार्टी (उनेपा) बाट तीन जना केन्द्रीय सदस्यले सामूहिक रूपमा राजीनामा दिएका छन्। राजीनामा दिनेमा समानुपातिक उम्मेदवारसमेत रहेका नेताहरू डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजम रहेका छन्। उनीहरूले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जनाएका छन्।
राजीनामापछि सार्वजनिक गरिएको विज्ञप्तिमा उनीहरूले उज्यालो नेपाल पार्टीभित्र आन्तरिक लोकतन्त्र अत्यन्त कमजोर रहेको, विचार, विधि र प्रक्रिया स्पष्ट नभएको तथा पहिचानसम्बन्धी एजेन्डा लिखित रूपमा प्रस्तुत नगरिएको आरोप लगाएका छन्। यस्ता कमजोरीका कारण पार्टीभित्र रहेर राजनीतिक उद्देश्य पूरा गर्न नसकिने निष्कर्षमा पुगेको उनीहरूको भनाइ छ।
डकेन्द्रसिंह थेगिम कुलमान घिसिङले पार्टी गठन गर्नुअघि प्रदेश नम्बर १ पुनःनामकरण संयुक्त संघर्ष समितिका संयोजक थिए। ज्ञानबहादुर गुरुङ र अमर इजम यसअघि नागरिक उन्मुक्ति पार्टी मा आबद्ध थिए। उनीहरू लामो समयदेखि अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान नामाकरण गर्नुपर्ने मागसहितको आन्दोलनको नेतृत्व गर्दै आएका थिए।
उज्यालो नेपाल पार्टीबाट डकेन्द्रसिंह थेगिमको नाम आदिवासी जनजाति क्लस्टरको तेस्रो नम्बरको समानुपातिक उम्मेदवारको रूपमा समावेश गरिएको थियो। तर पार्टीको आन्तरिक संरचना र एजेन्डाप्रति असन्तुष्टि जनाउँदै उनले समेत पार्टी परित्याग गरेका हुन्।
राजीनामापछि उनीहरूले आफूहरू स्वतन्त्र रूपमा रहेर संयुक्त पहिचानवादी मोर्चालाई सशक्त बनाउने घोषणा गरेका छन्। पहिचान, आत्मनिर्णय र समावेशी राजनीतिका मुद्दामा अब नयाँ ढंगले संघर्ष अघि बढाइने उनीहरूको भनाइ छ।
यसअघि कुलमान घिसिङ ले पार्टी गठन गरेपछि रास्वपासँग एकता र त्यसपछि भएको विभाजनका क्रममा केही नेताहरू रास्वपामै बसेर उज्यालो नेपाल पार्टीले पहिलो राजनीतिक धक्का व्यहोरेको थियो। पछिल्लो राजीनामालाई उनेपाभित्रको आन्तरिक असन्तुष्टि र नेतृत्वप्रतिको चुनौतीका रूपमा हेरिएको छ।
