काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले झापा–५ मा आफूविरुद्ध चुनावी मैदानमा उत्रिएका बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन्। गृह जिल्ला झापामा चुनावी प्रचारका क्रममा उनले बालेनको उम्मेदवारीलाई ‘रविको चलाखी’ को परिणाम भएको दाबी गर्दै बालेन झापा–५ मा फसाइएको आरोप लगाए। उनले बालेनको पछाडि देखिएको भीडलाई पनि बाहिरबाट ल्याइएका मानिसको संज्ञा दिएका छन्।
ओलीले झापा–५ मा देखिएको भीडले मत नबढ्ने दाबी गर्दै भने, “मतदाता नभएका, बाहिरबाट बस, कार र बाइकमा ल्याइएका मानिस देखाएर चुनाव जितिँदैन। त्यस्तो भीड सञ्चारमाध्यमका लागि मात्रै हुन्छ, मतदानका लागि होइन।” उनले आफूले यस क्षेत्र मात्र होइन, देशकै कायाकल्प हुने खालका विकासका काम गरेको दाबी गरे।
बालेनको लोकप्रियतामाथि प्रश्न उठाउँदै ओलीले काठमाडौं महानगरपालिकाको कार्यकाललाई पनि आलोचना गरे। सुकुम्बासी बस्तीमा डोजर चलाएको, खोला किनारमा बसोबास गर्न नदिएको र त्यसका कारण सुकुम्बासी तथा श्रमजीवी वर्ग आतंकित भएको उनको भनाइ थियो। “काठमाडौंमा केही देखिने विकास भएन, बरु अरूले बनाएका कामलाई आफ्नो भनेर प्रचार गरियो,” ओलीले कटाक्ष गरे।
जेन–जी आन्दोलनका क्रममा भएको हिंसा र सुरक्षाका घटनाबारे पनि ओलीले आफ्ना धारणा राखे। उनले बालबालिकालाई आन्दोलनमा प्रयोग गर्नु गम्भीर अपराध भएको बताए र संसद् भवन जलाउने प्रयास तथा प्रहरीमाथि आक्रमण भएपछि सुरक्षाकर्मीले कारबाही गर्नु स्वाभाविक भएको जिकिर गरे। “प्रधानमन्त्रीले गोली चलाउन आदेश दिन्छ भन्ने आरोप निराधार हो,” उनले भने।
बालेन झापा–५ किन आएको भन्ने प्रश्नमा ओलीले त्यसलाई रवि लामिछाने को रणनीतिसँग जोडे। “रविको चलाखीले यहाँ ल्याएर खाल्डोमा हालिदिएको हो,” ओलीले व्यङ्ग्य गरे। उनले आफूले झापा–५ मा फराकिलो मतान्तरले जित्ने दाबी गर्दै यहाँ वास्तविक प्रतिस्पर्धा नै नभएको बताए।
ओलीले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी पनि दोहोर्याए। गठबन्धनको आवश्यकता नरहेको र एमाले एक्लैले १३८ भन्दा बढी सिट जित्ने उनको भनाइ थियो। झापा–५ मा बालेनसँग होइन, कांग्रेससँग मात्र प्रतिस्पर्धा हुने दाबी गर्दै उनले अन्त्यमा भने, “यहाँ ‘डबल’ भन्दा बढी मतले हामी नै जित्छौं।”
