काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’मा कहिँ कतै रक्तरञ्जित इतिहासका महिमाको सम्झना बाँकी भए पछि हट्न सुझाव दिएका छन् । कार्यवाहक अध्यक्ष भुसालले प्रचण्डले नेता हरिबोल र महेश्वर दाहालहरूलाई गरेको कारबाहीको प्रसङ्ग कोट्याउँदै यस्तो सुझाव दिएका हुन् ।
आइतबार सामाजिक सञ्जालमार्फत भुसालले प्रचण्डलाई सम्बोधन गर्दै भनेका छन्, ‘हरिबोल गजुरेल र महेश्वर दाहालहरूले तपाईँको अनुशासन उल्लङ्घन गरे होलान्, त्यसको बदलामा अनुशासित र सजिला मानिसहरू भर्ती भइरहेका होलान् । तर नबिर्सिनुस्, तपाईँले आफ्नै जिन्दगीमा गौरव गर्ने केही चिज छ भने त्यो हरिबोल वा महेश्वरहरूजस्ता अप्ठेराहरूले बनाइदिएका हुन् ।’
साथै, भुसालले प्रचण्डले जुन दिनदेखि अप्ठेराहरूको ठाउँमा सजिला र अनुशासित मानिसहरूको भर्ती गर्न थालेबाटै गौरवका गजुरहरू भत्किन थालेको र त्यसको मूल्य कम्युनिस्ट आन्दोलनले भुक्तान गरिरहेको टिप्पणी गरेका छन् ।
‘तपाईं र तपाईंहरुजस्ता ‘शक्तिशालीहरू’ ले जुन दिनदेखि अप्ठेराहरूको ठाउँमा सजिला र अनुशासित मानिसहरूको भर्ती गर्न थाल्नुभयो तपाईंहरुको गौरवका एक एक गजुरहरू भत्किँदै गए, त्यसको मूल्य हाम्रो समग्र आन्दोलनले भुक्तान गर्दैछ’, भुसालले सुझाव दिँदै भनेका छन्, ‘तपाईंमा कहीँ कतै रक्तरञ्जित इतिहासका महिमाको सम्झना बाँकी छ भने कृपया पछि हट्नुस्, अगाडि बाटो छैन ।’
