• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

गगन थापा मैदान बाहिंरिदा काठमाडौ ४ मा चुनाव खल्लो भयो :रास्वपा उम्मेदवार बम


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा काठमाडौं क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुकार बमले नेपाली कांग्रेसका सभापति गगनकुमार थापा यस क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा नउत्रिँदा चुनावी रोमाञ्चकता कम भएको टिप्पणी गरेका छन्। नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’मा प्रधान सम्पादक गुणराज लुइँटेलसँगको कुराकानीमा बमले बलियो प्रतिस्पर्धी मैदानमा नहुँदा चुनावी रौनक अपेक्षाअनुसार नबनेको बताए।

लामो समयदेखि थापाले जित्दै आएको काठमाडौं–४ लाई कांग्रेसको राजनीतिक गढ र विरासतका रूपमा हेरिँदै आएको उल्लेख गर्दै बमले आफू यही विरासत र प्रवृत्तिलाई चुनौती दिन मैदानमा आएको बताए। तर मुख्य प्रतिस्पर्धी नै अन्यत्र गएपछि चुनाव अलि खल्लो महसुस भएको उनको भनाइ थियो। “म जुन कारणले यो ठाउँमा हिम्मत गरेर आएको हुँ, उहाँ (गगन थापा) यहाँ भएको भए त्यो विरासतको राजनीति तोड्ने न्यारेटिभ स्थापित गर्न अझ मज्जा आउँथ्यो,” बमले भने, “साँचिकै युद्धमैदानमा जाँदै गर्दा अपोनेन्ट नै सामान्य हुँदा अलिकति नमज्जा हुँदोरहेछ। उहाँ नहुँदा थ्रिलर कम भयो।”

गगन थापाले काठमाडौं–४ छाड्दा चुनाव जित्न सजिलो भयो कि भन्ने प्रश्नमा बमले यसलाई जित–हारको सहजताभन्दा पनि राजनीतिक सन्देशका रूपमा बुझ्नुपर्ने बताए। उनका अनुसार प्रतिस्पर्धा सजिलो हुनु एउटा पक्ष भए पनि आफूले भत्काउन खोजेको राजनीतिक न्यारेटिभ स्थापित गर्ने महत्वपूर्ण अवसर गुमेको छ। “उहाँले एउटा ठाउँ सजिलो पारिदिनुभयो होला, तर जुन खालको विरासत र प्रवृत्तिलाई चुनौती दिन म आएको थिएँ, त्यो अवसर भने गुम्यो,” उनले थपे।

बमले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले झापा–५ बाट पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने आँट गरेको उदाहरण दिँदै आफू पनि काठमाडौं–४ मा बलियो प्रतिस्पर्धीसँगै चुनाव लड्न चाहेको बताए। मुलुकमा ३०–४० वर्षदेखि जरा गाडेर बसेको राजनीतिक सिन्डिकेट तोड्न आफू सक्षम रहेको दाबी गर्दै उनले आगामी निर्वाचनमा १० हजारभन्दा बढी मतान्तरले विजयी हुने दाबीसमेत गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖