• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एमालेको महत्त्वाकांक्षी घोषणापत्र : १० जीबी निःशुल्क डाटादेखि २५ हजारसम्मको ऋण मिनाहा गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि युवा स्वरोजगार, डिजिटल रूपान्तरण र सामाजिक सुरक्षालाई केन्द्रमा राखेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। एमालेले विशेष गरी जेनजी र युवा पुस्तालाई लक्षित गर्दै १८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई एक वर्षसम्म हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने आकर्षक योजना अघि सारेको छ।

सूचना प्रविधि र स्टार्टअपमा रुचि राख्ने युवाहरूका लागि प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड उपलब्ध गराएर १० लाख युवालाई स्वरोजगार बनाउने लक्ष्य पार्टीले लिएको छ। शिक्षा र रोजगारीका क्षेत्रमा पनि एमालेले ठुला प्रतिबद्धताहरू जनाएको छ।

प्राविधिक उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण दिने र कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजाको प्रबन्ध गर्ने घोषणापत्रमा उल्लेख छ। यस्तै, श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने र निजी तथा सामुदायिक विद्यालयका शिक्षकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध गर्दै उनीहरूको मर्यादाक्रम तोक्ने योजना एमालेले ल्याएको छ। स्वास्थ्य स्वयंसेविकाहरूको वार्षिक भत्ता २० हजार पुर्‍याउने प्रतिबद्धता पनि एमालेको छ।

महिला सशक्तीकरण र मातृशिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै एमालेले गर्भवती महिलाका लागि ५ लाखसम्मको निःशुल्क जीवन बीमा र सुत्केरी भएपछि २० हजार रुपैयाँ मातृशिशु पोषण भत्ता दिने घोषणा गरेको छ। महिला उद्यमीहरूलाई २० लाखसम्म निर्ब्याजी ऋण र त्यसको निःशुल्क बीमाको व्यवस्था समेत गरिने बताइएको छ। विपन्न परिवारका हकमा २०८२ भदौसम्म लिएको २५ हजारसम्मको ऋण मिनाहा गर्ने र उनीहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने एमालेको रणनीति छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि श्रमिकको बैंक खातामा वार्षिक ५ हजार रुपैयाँ सरकारका तर्फबाट थप गरिदिने र उनीहरूलाई सामाजिक सुरक्षा प्रणालीमा निरन्तरता दिने प्रबन्ध गरिने घोषणापत्रमा समेटिएको छ। बहालवाला तथा अवकाशप्राप्त सुरक्षाकर्मीको सम्मानजनक जीवनयापन र स्वास्थ्योपचार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै एमालेले यसपटकको निर्वाचनमा सबै वर्ग र क्षेत्रलाई समेट्ने प्रयास गरेको देखिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖