काठमाडौं- सर्वोच्च अदालतको आदेशपछि रिहा भएका बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आगामी चुनाव देशविरोधी रहेको उल्लेख गर्दै यसले समयको मात्र बर्बादी हुने बताएका हुन्। उनले पहिले संविधान संशोधन गर्नुपर्ने, सर्वदलीय बैठक बस्नुपर्ने, हिन्दु राज्य र राजसंस्था फर्काएर मात्रै चुनावमा जानुपर्ने पनि बताए।
सर्वोच्चले बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा मंगलबार सुनुवाइ गर्दै प्रसाईंलाई रिहा गर्न आदेश जारी गरेको थियो। उनी बुधबार काठमाडौं प्रहरी परिसरबाट रिहा भएका हुन्।
निर्वाचन विथोल्नसक्ने भन्दै प्रहरीले उनलाई फागुन ४ गते प्रहरीले पक्राउ गरेको थियो।
उनले सर्वोच्च अदालत, सिंहदरबार र संसद् भवन जलाइएको बताउँदै त्यति गरेर २०८४ को चुनाव ०८२ मा गर्न लागिएको दाबी गरे।
‘संसद् भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालय, सिंहदरबारदेखि स्वास्थ्य चौकीसमेत डढाएर के परिवर्तन आयो ? ०८४ को चुनाव ०८२ मै गर्न सिंहदरबारमा आगो लगाएको हो ? यो कुरा प्रष्ट नभइ तपाईंहरू किन चुनाव गराउनु हुन्छ ?’, उनले भने, ‘मैले बोल्दाखेरी थुनिनुपर्ने ? मैले यो कुरा पटक पटक बोलेको हो । सिंहदरबार र संसद् भवनमा आगो लाग्दा कोही पनि नबोल्ने अनि अहिले हतियार र बर्दी देखाएर चुनावमा जाने ?’ उनले भने।
उनले यही अवस्थामा यदि चुनाव भएमा नेपाल दोस्रो युक्रेन हुने दोहोर्याए। ‘यो चुनाव भयो भने देश दोस्रो युक्रेन हुन्छ । नेपाल अब युक्रेनको बाटोमा जाँदैछ’, उनले भने, ‘के लोकतन्त्रमा बोल्न पाइँदैन । मेरो कुरा मैले भन्न सक्छु।’
