• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सिंहदरबार जलाउने आरोपीमाथि मुद्दा चलाउने निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौँ । उच्च सरकारी वकिल कार्यालय पाटनले सिंहदरबार जलाएको अभिव्यक्ति दिएका आराेपी महेन्द्र गौतममाथि मुद्दा चलाउने निर्णय गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्णय उल्टाउदै गौतममाथि मुद्दा चलाउने निर्णय गरेको हो।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले यसअघि चितवन खैरहनी नगरपालिका–९ घर भई कठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ३६ वर्षीय गौतममाथि मुद्दा नचलाउने गरी निर्णय गरेको थियो ।

पाटनकी उपन्यायाधिवक्ता विन्दा धामी रावलले मुद्दा नचलाउने निर्णयलाई बदर गरी मुद्दा चलाउने निर्णय गरेको बताइन् । ’हामीले गत फागुन १३ गते नै जिल्लाको निर्णय उल्टाउँदै मुद्दा चलाउने निर्णय गरेका छौ,’ उपन्यायाधिवक्ता धामीले रातोपाटीसँग भनिन्, ’गौतमले मैले सिंहदरबार जलाएको हो भन्ने भिडियो प्रमाण हरेर सोही आधार लिएर मुद्दा चलाउने निर्णय गरेका हौँ ।’‘निर्णयअनुसार मुद्दा चलाउनू भनेर जिल्लामा हामीले फाइल पठाइसक्यौं,’ उनले भनिन् ।

सामाजिक सञ्जालमा बाहिरिएको भिडिओमा गौतमले ’सिंहदरबारको गेट तोडी भित्र पसेर गृह मन्त्रालयदेखि सबै कार्यालयमा आगो लगाएर भ्याइसक्यौं,’ भनेका थिए । यसरी बोले पनि आगजनी गरिरहेको भिडिओमा नदेखिएको जिल्ला सरकारी वकिलको दाबी थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गौतममाथि मुद्दा चलाउँदा भिडिओ प्रमाण पर्याप्त नभएको दाबी गरेको थियो । उक्त निर्णयको चौतर्फि विरोध भएको थियो ।

गत भदौ २४ मा सिंहदरबार लगायतको सरकारी कार्यालय आगजनी भएपछि गौतमलाई घटना भएको झन्डै ५ महिनापछि माघ २२ गते पक्राउ गरिएको थियो । तर सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको भन्दै उनलाई फागुन ८ गते हाजिर जमानीमा छाड्न प्रहरीलाई निर्देशन दिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖