• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेसनल भोलेन्टियर फोर्सले दियो रास्वपालाई बधाई


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा एमालेसँग सम्बद्ध नेसनल भोलेन्टियर फोर्सले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको जनसमर्थनप्रति बधाई तथा शुभकामना व्यक्त गरेको छ। संगठनले विज्ञप्ति जारी गर्दै नेपाली नागरिकले व्यक्त गरेको जनमत लोकतन्त्रको सुदृढताको प्रतीक भएको भन्दै त्यसलाई उच्च सम्मानका साथ स्वीकार गर्ने जनाएको छ।

फोर्सले जारी गरेको विज्ञप्तिमा नेपाली जनताले अभूतपूर्व रूपमा रास्वपाको पक्षमा मत व्यक्त गरेको उल्लेख गर्दै उक्त पार्टीलाई संगठनको तर्फबाट हार्दिक बधाई तथा शुभकामना दिइएको छ। साथै जनताले परिवर्तन, सुशासन र भ्रष्टाचारमुक्त समाजको अपेक्षासहित दिएको जनादेशलाई व्यवहारमा उतार्न रास्वपालाई आग्रह गरिएको छ।

विज्ञप्तिमा जनताले महसुस गर्ने गरी प्रशासनिक सुधार, पारदर्शिता र भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्न सुझाव दिइएको छ। यदि सरकारबाट जनभावनाविपरीत, भ्रष्टाचारजन्य वा राष्ट्रिय हितमा आँच पुग्ने कुनै निर्णय भए त्यसको सशक्त रूपमा सडकबाट प्रतिवाद गरिने चेतावनी समेत दिइएको छ।

संगठनले हालैको निर्वाचन परिणामलाई पार्टीका लागि आत्मसमीक्षा गर्ने अवसरको रूपमा लिनुपर्ने पनि जनाएको छ। जनताले दिएको स्पष्ट सन्देशलाई जिम्मेवारीपूर्वक स्वीकार गर्दै पार्टी संरचना, कार्यशैली र पद्धतिमा सुधार गर्दै पुनः सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

विज्ञप्तिमा राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा संगठनको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै देशको प्रगति र जनताको हितमा सरकारले गर्ने सकारात्मक कामलाई समर्थन गरिने तर जनहितविपरीत कदम चालिए सडकबाट सशक्त प्रतिवाद गरिने चेतावनी पनि दिइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖