• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

हर्मुज खुलाउन सीले सहयोग नगरे चीन भ्रमण ढिला गर्ने ट्रम्पको धम्की


  • धनकुटा खबर
  • .

एजेन्सी । चीनले ‘स्ट्रेट अफ हर्मुज’ खुलाउन सहयोग नगरे अमेरिकी राष्ट्रपति चीन भ्रमण ढिला गर्ने डोनाल्ड ट्रम्पले धम्की दिएका छन्।

अमेरिका र इसराइलले फेब्रुअरी २८ मा इरानमाथि हमला गरेपछि इरानले आफ्नो नजिकै रहेको साँघुरो समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेको छ।

यो जलमार्ग प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल र करिब २० प्रतिशत ग्यास पैठारी हुन्छ।

त्यो बन्द हुँदा तेल आपूर्ति कम भएर अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ। फलस्वरूप विश्व अर्थतन्त्रमा नै नराम्रो प्रभाव परेको छ।
सो जलमार्ग खुलाउन अहिले ट्रम्पले प्रयत्न गरिरहेका छन्। विश्व अर्थतन्त्रमा समस्या आउन नदिन ट्रम्पले युद्धपोतले ‘स्कर्टिङ’ गरेर भए पनि हर्मुज खुलाउने भनेका छन्।

हर्मुज खुलाउन युद्धपोत पठाउन शनिबार मात्रै उनले चीन, बेलायत लगायत देशलाई आग्रह गरेका छन्। तर चीनले युद्धपोत पठाउने सम्भावना कम देखिन्छ।

त्यसैले चीनले हर्मुज खुलाउन प्रयत्न गरोस् भनेर दबाव हाल्न ट्रम्पले चीन भ्रमण पछि सार्ने धम्की दिएका हुन्।

चिनियाँ समकक्षी सी चिनफिङसँगको शिखर सम्मेलन अघि आफूले तेल सम्बन्धी अवरोध समाधान होस् भन्ने चाहेको ट्रम्पले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा भनेका छन्।

‘मलाई लाग्छ चीनले पनि मद्दत गर्नुपर्छ किनकि चीनले आफ्नो ९० प्रतिशत तेल त्यही जलमार्गबाट प्राप्त गर्छ,’ ट्रम्पले भने।

शिखर सम्मेलन भन्दा पहिले नै चीनले सहयोग गर्छ कि गर्दैन भनेर जान्न चाहेको पनि उनले बताए।

‘हामी ढिलाइ गर्न सक्छौं,’ शिखर सम्मेलनको सन्दर्भमा उनले थपे।
उनले आफ्नो भ्रमण कति समयका लागि पछि सार्ने भन्ने बारे चाहिं खुलाएनन्।

चिनियाँ राष्ट्रपति सीसँग भेटेर केहि महिना अघि चीनसँग भएको व्यापार सुलहलाई अन्तिम रूप दिन ट्रम्प मार्चको अन्त्यमा चीन जाने कार्यक्रम छ।
आपसी व्यापार बाहेक ताइवान मामलाबारे पनि ट्रम्पसँग कुरा गर्न सी आतुर देखिन्छन्। ट्रम्प रिसाएर भ्रमण रद्द गर्लान् भनेर नै चीनले इरानमाथि भएको हमलाको धेरै कडा विरोध नगरेको मानिन्छ।

सो कुरा बुझेका ट्रम्पले हर्मुज खुलाउन चीनलाई दबाव हाल्न आफ्नो चीन भ्रमण ढिला गर्ने धम्की दिएका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖