• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

महावीर पुनले मागे नवप्रवर्तन मन्त्रालय गठन


  • धनकुटा खबर
  • .

काठमाडौ । पूर्वशिक्षा मन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले विज्ञान प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय गठन गर्न माग गरेका छन्।

बिहीबार आफ्नो सामाजिक सञ्जालमा लेख्दै उनले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न र उनीहरूलाई उद्यमी बनाउन शक्तिशाली नवप्रवर्तन मन्त्रालय चाहिने बताएका हुन्।

‘प्रतिभाशाली युवाहरूलाई विदेश पलायन हुनबाट रोकेर, उनीहरूलाई उद्यमी बनाई नेपालको अर्थतन्त्रको विकास गर्न एकदमै शक्तिशाली विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय चाहिन्छ! चाहिन्छ! चाहिन्छ! अनि अनुसन्धान, नवप्रवर्तन तथा आविष्कारका लागि कुल गार्हस्थ्य उत्पादनको १ प्रतिशत रकम बजेटमा छुट्ट्याउनै पर्छ! पर्छ! पर्छ! यसो गरेन भने देश उँभो लाग्दैन है साथीहरू,’ उनले भनेका छन्।

फागनु २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर जित हासिल गरेका हुन्। यसअघि जेनजी आन्दोलनपछि उनी शिक्षामन्त्री भएका थिए। निर्वाचनमा उम्मेदवारी दिने भएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।

यसपालि निर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖