• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा


  • धनकुटा खबर
  • .

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय व्यापारिक पानी जहाज र नागरिक पूर्वाधारमा इरानले गरेको आक्रमणको शनिबार पनि निन्दा गरेका छन् ।

इरानको खातम अल–अनबिया केन्द्रीय मुख्यालयका प्रवक्ता इब्राहिम जोल्फाघारीले संयुक्त अरब इमिरेट्स (युएई)को रस अल–खैमाहमा आक्रमण हुन सक्ने चेतावनी दिएपछि युएईसहितका २२ मुलुकले इरानी चेतावनीप्रति चासो देखाएका हुन् ।

‘हामीले पहिले घोषणा गरेका थियौँ र व्यवहारमा प्रमाणित गरेका थियौँ, हामी हाम्रो क्षेत्र र राष्ट्रिय सार्वभौमिकतामाथि कुनै पनि आक्रमण भएमा प्रत्याक्रमण गर्नेछौँ,’ जोल्फाघारीले भनेका छन् ।

रस अल खैमाह एक औद्योगिक बन्दरगाह शहर हो र संयुक्त अरब इमिरेट्सको रस अल–खैमाहको सबैभन्दा ठूलो शहर र राजधानी पनि हो।

उनले भने, ‘हामी युएईलाई चेतावनी दिन्छौं कि यदि इरानको अबु मुसा टापु र फारसको खाडीमा रहेको ग्रेटर टुन्बमाथि बारम्बार आक्रमण भयो भने इरानको शक्तिशाली सेनाले रस अल–खैमाहलाई कडा प्रहार गर्नेछ ।’

संयुक्त अरब इमिरेट्स, बेलायत, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, जापान, क्यानडा, गणतन्त्र कोरिया, न्यूजिल्याण्ड, डेनमार्क, लाटभिया, स्लोभेनिया, इस्टोनिया, नर्वे, स्वीडेन, फिनल्यान्ड, चेकिया, रोमानिया, बहराइन, लिथुआनिया र अस्ट्रेलियाले यस घटनाप्रति गम्भीर चासो व्यक्त गरेका हुन् ।

‘स्ट्रेट अफ हर्मुज’ को ‘वास्तविक बन्द’ लगायत हालैका घटनाक्रमले विश्वव्यापी व्यापार र ऊर्जा सुरक्षामा गम्भीर जोखिम निम्त्याएको वक्तव्यमा चेतावनी दिइएको छ ।

वक्तव्यमा भनिएको छ, ‘हामी इरानलाई आफ्नो धम्की दिने, बारुदी सुरुङ ओछ्याउने ड्रोन र क्षेप्यास्त्र आक्रमण र स्ट्रेट अफ हर्मुज रोक्ने अन्य प्रयासहरू तत्काल रोक्न आग्रह गर्दछौँ।’

यसैबीच, युएईको रक्षा मन्त्रालयले भनेको छ कि उसको हवाई प्रतिरक्षा प्रणालीले शनिबार इरानबाट आफ्नो देशतर्फ प्रक्षेपण गरिएका तीन ब्यालेस्टिक मिसाइल र आठ ड्रोनलाई रोकेको छ।

आक्रमण सुरु भएयता युएईको हवाई प्रतिरक्षाले ३४१ ब्यालेस्टिक मिसाइल, १५ वटा क्रुज क्षेप्यास्त्र र एक हजार ७४८ ड्रोन प्रयोग गरिसकेको मन्त्रालयले जनाएको छ ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले तेहरान र अन्य धेरै इरानी शहरहरूमा संयुक्त रूपमा गरेको आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीसहित वरिष्ठ सैन्य कमान्डर र सर्वसाधारणको मृत्यु भएको थियो भने कैयौँ भौतिक संरचनामा क्षति पुगेको थियो ।

बदलामा इरानले मध्यपूर्वमा इजरायल र अमेरिकी सैन्य आधार र सम्पत्तिलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमणको श्रृङ्खलाहरू सुरु गरेको थियो । यो युद्धले इरानलगायतको मध्यपूर्वलाई तहस नहस बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖