• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

ट्रम्पको लोकप्रियतामा अहिलेसम्मकै ठुलो गिरावट, अमेरिकी नागरिक रुष्ट


  • धनकुटा खबर
  • .

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएपछि उनको लोकप्रियतामा अहिलेसम्मकै ठूलो गिरावट आएको छ। रोयटर्स र इप्सोसले गरेको पछिल्लो जनमत सर्वेक्षण अनुसार, इरानसँगको युद्ध र त्यसका कारण आकासिएको इन्धनको मूल्यले ट्रम्पप्रति अमेरिकी नागरिकको असन्तुष्टि बढाएको हो।

सोमबार सम्पन्न चार दिने सर्वेक्षणले मात्र ३६ प्रतिशत अमेरिकीले ट्रम्पको कार्यसम्पादनलाई अनुमोदन गरेको देखाएको छ, जुन गत हप्ताको ४० प्रतिशतको तुलनामा उल्लेखनीय कमी हो। विशेष गरी २८ फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त आक्रमणपछि इन्धन को मूल्यमा भएको वृद्धले ट्रम्पको लोकप्रियतालाई प्रत्यक्ष असर पारेको छ।

सन् २०२४ को चुनावमा ट्रम्पले मुख्य एजेन्डा बनाएको जीवनयापनको लागत नियन्त्रण गर्ने मुद्दामा अहिले मात्र २५ प्रतिशत जनताले उनलाई विश्वास गरेका छन्।

आर्थिक व्यवस्थापनका मामलामा ट्रम्पले आफ्नो दुवै कार्यकालकै सबैभन्दा खराब रेटिङ पाएका छन्। सर्वेक्षणमा सहभागी मध्ये मात्र २९ प्रतिशतले ट्रम्पको आर्थिक नेतृत्वलाई सही मानेका छन्।

यो तथ्याङ्क उनका पूर्ववर्ती डेमोक्र्याट जो बाइडनको कार्यकालको सबैभन्दा न्यून रेटिङभन्दा पनि कम हो। बाइडनको पालामा भएको महँगीलाई चुनावी मुद्दा बनाएर सत्तामा आएका ट्रम्प आफैँ अहिले सोही समस्याको चक्रव्युहमा फसेका छन्। रिपब्लिकन रणनीतिकारहरूले राष्ट्रपतिले जनताको पीडा बुझ्न र राहतका प्याकेज ल्याउन ढिला गर्न नहुने सुझाव दिएका छन्।

‘मूर्खतापूर्ण युद्ध’ नगर्ने वाचा तोडिएको आरोप

चुनावको समयमा मूर्खतापूर्ण युद्धबाट अमेरिकालाई टाढा राख्ने बाचा गरेका ट्रम्प इरानसँगको सैन्य द्वन्द्वमा होमिएपछि मतदाताहरू थप चिन्तित बनेका छन्। इरानमाथिको आक्रमणलाई समर्थन गर्नेहरूको संख्या घटेर ३५ प्रतिशतमा झरेको छ भने ६१ प्रतिशतले यसको खुलेरै विरोध गरेका छन्। गत हप्ताको तुलनामा युद्ध विरोधीहरूको संख्या बढ्दै जानुले ट्रम्प प्रशासनमाथि दबाब सिर्जना गरेको छ।

यद्यपि, रिपब्लिकन पार्टीभित्र भने ट्रम्पको पकड अझै बलियो देखिन्छ। पाँचमध्ये चार जना रिपब्लिकनले अझै पनि उनको कार्यशैलीलाई समर्थन गरिरहेका छन्। तर, आफ्नै पार्टीभित्र पनि महँगीका कारण असन्तुष्ट हुनेहरूको संख्या २७ बाट बढेर ३४ प्रतिशत पुग्नुले आगामी दिनमा ट्रम्पका लागि आन्तरिक चुनौती थपिने संकेत गरेको छ।

कार्यकालको सुरुमा ४७ प्रतिशत लोकप्रियता रहेका ट्रम्पका लागि यो नयाँ तथ्याङ्क एउटा गम्भीर चेतावनी बनेर आएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖