काठमाडौँ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएकोविरुद्ध बन्दीप्रत्यक्षीकरण रिट लिएर भोलि सर्वोच्च अदालत जाने बताएका छन् ।
प्रहरीले ओली र लेखकलाई जरुरी पक्राउ पुर्जी जारी गर्दै पक्राउ गर्नु गैरकानुनी रहेकोले बन्दीप्रत्यक्षीकरण रिट लिएर सर्वोच्च अदालत जाने वरिष्ठ अधिवक्ता भट्टराईले बताए ।
‘दुई जनालाई पक्राउ गरेको प्रक्रिया पनि मिलेको छैन र यसरी कानुनी प्रक्रिया नपुर्याई पक्राउ गर्नु नै गलत छ,’ भट्टराईले भने, ‘जरुरी पक्राउ पुर्जी प्रहरीले जारी गर्न त सक्छ । तर त्यो भनेको भागेर कतै जाने सम्भावना भएको अवस्थामा र प्रमाण नष्ट गर्ने हकमा मात्रै हो ।’
‘दुई जनालाई गरिएको पक्राउ प्रक्रियागत रूपमा गलत र दोषपूर्ण छ,’ वरिष्ठ अधिवक्ता भट्टराईले भने ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाको सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले आज बिहान ओली र लेखकलाई भक्तपुरबाट पक्राउ गरेको थियो ।
