काठमाडौँ । पाकिस्तानको पृथकतावादी समूह बालोचिस्तान गणतन्त्रका एक नेता मिर यार बालोचले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिएका छन् । उनको शुभकामना सन्देशमा शाहको नेतृत्वलाई नेपालको लागि ‘आशाजनक अध्याय’ का रूपमा चित्रण गरिएको छ ।
‘बलोच समुदाय नेपाल’ का तर्फबाट बालोचिस्तान गणतन्त्र नेपालका नयाँ मन्त्रिपरिषद् तथा सम्मानित प्रधानमन्त्रीको पद ग्रहण गर्नुभएका बालेन्द्र शाहलाई हार्दिक बधाई व्यक्त गर्दछ,’ सन्देशमा भनिएको छ, ‘तपाईंको नेतृत्वले तपाईंको राष्ट्रका लागि एक आशाजनक अध्यायको सुरुवात गरेको छ र हामी विश्वस्त छौँ कि तपाईंको दृष्टिकोण, ऊर्जा र समर्पणले नेपाललाई अझ बढी प्रगति र समृद्धितर्फ मार्गदर्शन गर्नेछ ।’
आपसी सम्मान, सहकार्य तथा शान्ति र विकासका साझा आकांक्षामा आधारित ‘दुई राष्ट्र’ बीच मैत्रीपूर्ण सम्बन्ध प्रगाढ बनाउने र सुदृढ कूटनीतिक सम्बन्ध स्थापना गर्ने अपेक्षा उनले व्यक्त गरेका छन् ।
‘यो नयाँ यात्राले तपाईंको नेतृत्वलाई सफलता प्रदान गरोस् र हाम्रा जनताबीचको सम्बन्ध अझ मजबुत बनाओस्,’ उनको ट्विटमा भनिएको छ ।
निर्वासित तिब्बत सरकारपछि यस्तै पृथकतावावादी संगठनबाट बालेनलाई अर्को बधाई आएको हो ।
के हो बलोचिस्तान ?
बलोचिस्तान एउटा ठूलो ऐतिहासिक क्षेत्र हो जुन दक्षिण–पश्चिम एशियामा पर्छ । यो क्षेत्र मुख्य रूपमा सुक्खा, पहाडी र मरुभूमि जस्तो छ, जसमा ठूला–ठूला पहाडहरू, मैदान र अरब सागरको तट पनि समावेश छ ।
यो क्षेत्रको नाम बलोच जाति, जो यो क्षेत्रका मूल बासिन्दा हुन्, बाट आएको हो । भौगोलिक रूपमा यो क्षेत्र तीन देशमा विभाजित छ ।
पाकिस्तानको बलोचिस्तान प्रान्तः सबैभन्दा ठूलो भाग यहाँ छ । यो पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो । क्षेत्रफलको हिसाबले करिब ४४५०, तर जनसंख्याको हिसाबले सबैभन्दा कम घनत्व भएको । यसको राजधानी क्वेटा हो । यो अफगानिस्तान, इरान, पन्जाब, सिन्ध र खैबर पख्तुनख्वासँग जोडिएको छ ।
इरानको भागः सिस्तान र बलुचिस्तान प्रान्त र आसपासका केही क्षेत्र । अफगानिस्तानको दक्षिणी भागः केही जिल्लाहरू जस्तै निमरोज, हेलमन्द आदि । बलोच जातिका मानिसहरू मुख्य रूपमा सुन्नी मुस्लिम हुन् र उनीहरूको भाषा बलोची (इरानी भाषा परिवारको) हो। यो क्षेत्र प्राकृतिक स्रोत (ग्यास, खनिज, सुन, तामा आदि)ले धनी छ तर विकास कम भएको छ ।
प्राचीन समयमा यो क्षेत्र अलेक्जेन्डर द ग्रेटको सेनाले पार गरेको थियो, पछि विभिन्न साम्राज्य (फारसी, मुगल आदि)को प्रभावमा पर्यो ।
१९औँ शताब्दीमा ब्रिटिसले यो क्षेत्र नियन्त्रण गरे । १९४७ मा पाकिस्तान बनेपछि कलात राज्य (बलोचिस्तानको मुख्य भाग)लाई पाकिस्तानमा गाभियो, जसलाई धेरै बलोच राष्ट्रवादीहरूले अवैध कब्जा ठान्छन् । त्यसपछि यहाँ स्वतन्त्रता आन्दोलन चलिरहेको छ, जसमा पाकिस्तानी सेनासँग द्वन्द्व पनि भइरहेको छ ।
मिर यार बालोच को हुन् ?
मिर यार बालोच एक बलोच राष्ट्रवादी नेता, लेखक, मानवाधिकार कार्यकर्ता र पत्रकार हुन् । उनी आजाद बलोचिस्तान मुभमेन्टको प्रमुख आवाज र प्रतिनिधि मानिन्छन् ।
उनी बलोचिस्तानलाई पाकिस्तानबाट अलग स्वतन्त्र राष्ट्र बनाउनुपर्छ भन्ने पक्षमा सक्रिय छन् । २०२५ मा उनले सोशल मिडिया (विशेष गरी ट्विटर) मार्फत बलोचिस्तानलाई पाकिस्तानबाट स्वतन्त्र घोषणा गरेका थिए । उनले संयुक्त राष्ट्रसंघलाई शान्ति सेना पठाउन, पाकिस्तानी सेना हटाउन र भारतलाई बलोच दूतावास खोल्न आग्रह गरेका थिए ।
उनी पाकिस्तान सरकार र सेनामाथि मानवअधिकार उल्लङ्घन, दमन, बमबारी र नरसंहार जस्ता आरोप लगाउँछन् । साथै, चीन, पाकिस्तान आर्थिक करिडोरलाई बलोचिस्तानमा खतरा ठान्छन् र चीनले सैनिक तैनाथ गर्न सक्ने चेतावनी दिन्छन् ।
उनी भारतसँग सम्बन्ध राख्न र बलोचिस्तानको स्वतन्त्रतामा समर्थन खोज्न सक्रिय छन् । केहीले उनलाई बलोच स्वतन्त्रता आन्दोलनको अम्बेडकर वा शेख मुजिबू जस्तो व्यक्तित्व भन्छन् ।
मिर यार बालोच मुख्य रूपमा शान्तिपूर्ण कूटनीतिक र अन्तर्राष्ट्रियस्तरबाट आवाज उठाउने कार्यकर्ता हुन् । तर उनी बलोच लिबरेशन आर्मीजस्ता सशस्त्र समूहसँग पनि जोडिएर चर्चामा आउँछन् । उनी बलोच युवाहरूमाझ लोकप्रिय छन् र निरन्तर पाकिस्तानको ‘कब्जा’ विरुद्ध बोलिरहन्छन् ।
बलोचिस्तानको मुद्दा जटिल र विवादास्पद छ । पाकिस्तानले यसलाई आफ्नो आन्तरिक मामिला ठान्छ र अलगाववादीहरूलाई आतंककारी भन्छ ।
