• Friday 9th of October 2026

पूर्वमन्त्री सुदन किराँती के हर्क साम्पांगको श्रम संस्कृति पार्टीमा जान लागेका हुन् ?


  • धनकुटा खबर
  • .

काठमाडौ । पूर्वमन्त्री सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) छोड्ने संकेत दिएका छन्। प्रलोपा अध्यक्ष परिषदबाट राजीनामा दिएको खुलेसँगै यस्तो चर्चा उठेको हो।

सुदनले फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा पार्टी पराजयको नैतिक जिम्मेवारी लिँदै अध्यक्ष परिषदबाट राजीनामा दिएका हुन्। सो चुनावमा प्रलोपा देशभर एक सिट पनि जित्न सकेन र समानुपातिकतर्फ जम्मा २४ हजार मत पाएको थियो।

राजनीतिक पृष्ठभूमि हेर्दा सुदन माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य वामपन्थी घटकलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टी बनाउने प्रचण्डको कदमप्रति असन्तुष्टि जनाउँदै जनार्दन शर्मासँग मिलेका थिए। प्रलोपा गठन भएपछि सुदनलाई पाँच सदस्यीय अध्यक्ष परिषदमा सदस्य नियुक्त गरिएको थियो। अहिले उनी परिषदबाट मात्र राजीनामा दिएका हुन् वा पार्टी नै छोडेका हुन् भन्ने कुरा स्पष्ट भएको छैन।

यस विषयमा परिषदका अर्का सदस्य सन्तोष परियारले भने, “परिषद सदस्यबाट मात्र राजीनामा दिनुभएको हो, तर पार्टी सदस्यता त्यागेको बारे मलाई जानकारी छैन।”

प्रलोपामा भविश्य नदेखेपछि सुदन राजनीतिक रुपमा निस्क्रिय रहेको र जुनसुकै बेला पार्टी छोड्न सक्ने स्रोतहरूले बताएका छन्। उनी हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीमा मिसिने तयारीमा रहेको चर्चा छ। सुदनले सुनसरी-१ र भोजपुरमा हर्कको पार्टीलाई सहयोग गरिसकेका छन्।

सुदनको राजनीतिक यात्रा गोपाल किराँती नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चाबाट सुरु भएको थियो। त्यसपछि उनी माओवादीमा प्रवेश गरे र दुइपल्ट सांसद तथा एकपटक मन्त्रीसमेत बने। हाल चुनावअघि राम कार्की र जनार्दन शर्मासँग मिलेर नयाँ पार्टीमा लागेका थिए। यदि उनी हर्कको श्रम संस्कृति पार्टी वा अन्य कुनै दलमा मिसिन्छन् भने, यो उनको राजनीतिक जीवनको चौथो पार्टी प्रवेश हुनेछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖