काठमाडौं – नेपाली युवा स्पिनर दीपेश कँडेलले एसिसी यू-१९ प्रिमियर कपमा बहराइनविरुद्ध अद्भूत बलिङ गर्दै ६ विकेट लिएका छन् । मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइनलाई ३७.५ ओभरमा ७७ रनमा अल आउट गर्न दीपेशले सानदार प्रदर्शन गरे ।
दीपेश कँडेलले ९.५ ओभरमा ८ मेडनसहित ४ रन खर्चेर ६ विकेट लिए । उनले ५९ बल गर्दा ५७ बल डटका साथ ६ विकेट लिएका हुन् । नेपालले उनलाई दोस्रो ओभरमै बलिङमा ल्याएको थियो । उनले दोस्रो बल वाइडको रुपमा फँयालेका थिए । त्यो वाइड बाहेक उनले अन्य ६ बल नै डट राखेका थिए । त्यसपछि उनले लगातार ८ ओभर सम्म कुनैपनि रन दिएका थिएनन् ।
उनलाई ब्याटरले तीन रन मात्रै प्रहार गरे । ३८ औं ओभरको दोस्रो बलमा एक र तेस्रो बलमा दुई रन दिएका थिए । त्यसपछि उनले लगातार दुई विकेट लिँदै ६ विकेट पूरा गरेका हुन् ।
उनको घातक बलिङको सहयोगमा बहराइनका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले ७७ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३४ रन बनाए ।
यू१९ क्रिकेटमा यो उनको करिअरको उत्कृष्ट प्रदर्शन हो । गत फागुनमा नेपाललाई आइसिसी यू-१९ विश्वकप २०२४ मा पुर्याउन ह्याट्रिक लिँदै उनले अविश्वसनीय प्रदर्शन गरेका थिए । आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई ७ रनले हराउन दीपेश नायक बनेका थिए ।
४८ औं ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिँदै नेपालको विश्वकपमा स्थान पक्का गराएका थिए । दीपेशको ५ विकेटको सहयोगमा नेपालले ८ वर्षपछि विश्वकपमा स्थान बनाउन सफल भएको थियो ।
युएईलाई जितको लागि १८ बलमा ११ रन चाहिँदा दीपेशले बलिङ गर्न आएका थिए । युएईको हातमा ३ विकेट थियो । तर दीपेशले अन्तिम तीन बलमा लगातार विकेट लिँदै नेपाललाई विश्वकपमा पुर्याएका थिए । उक्त खेलमा दीपेशले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ५ विकेट लिएका थिए ।
