• Friday 9th of October 2026

ओली-लेखकलाई थप ५ दिन हिरासतमा राख्न अनुमति


  • धनकुटा खबर
  • .

काठमाडौ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आइतबार पाँच दिन म्याद थप गरेको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

‘ओली र लेखकलाई हिरासतमा राखी उपयुक्त लेखिए बमोजिमको कार्यहरू सम्पन्न गर्ने प्रयोजनका लागि चैत २१ गतेदेखि लागु हुने गरी ५ दिन म्याद थपको अनुमति प्रदान गरिएको छ,’ आदेशमा भनिएको छ।
ज्यान सम्बन्धी कसुरको अनुसन्धानको क्रममा दुबै जनाको बयान सकिसकेको छ।

यद्यपि थप अनुसन्धान गर्ने, प्रमाण बुझ्ने समेतका कार्यहरू गर्न बाँकी रहेको भन्दै अदालतले अनुसन्धानका लागि भनेर म्याद अनुमति दिएको हो।
चैत १४ गते बिहान पक्राउ परेका ओली र लेखकलाई आज तेस्रो पटक म्याद थप भएको हो। सुरूमा ५ दिन म्याद थप भएको थियो। उक्त म्याद सकेर दुई दिन फेरि म्याद थपिएकोमा आज तेस्रो पटकमा ५ दिनको म्याद थपिएको हो।

दुबै जनाले आफूहरूलाई गैरकानुनी रूपमा प्रहरीले पक्राउ गरेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट समेत दायर गरेका छन्।
त्यस रिटमा आइतबार सुनुवाइ भई हेर्दाहेर्दैमा राखिएको छ।

भदौ २३ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगले अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा मन्त्रिपरिषद बैठकले प्रतिवेदनलाई कार्यान्वयन गर्ने निर्णय चैत १३ गते गरेको थियो।

त्यस निर्णय पछि प्रहरीले उनलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖