• Friday 9th of October 2026

एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग पटक-पटक भर्ना शुल्क नलिन र शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि विद्यार्थी भर्ना नगर्न देशभरका विद्यालयहरूलाई निर्देशन


  • धनकुटा खबर
  • .

काठमाडौँ । शिक्षा मन्त्रालयले एउटै विद्यालयमा एक पटकमात्रै भर्ना शुल्क लिन निर्देशन दिएको छ । मन्त्रालयले एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग पटक-पटक भर्ना शुल्क नलिन र शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि विद्यार्थी भर्ना नगर्न देशभरका विद्यालयहरूलाई निर्देशन दिएको हो ।

मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोख्रेलद्वारा हस्ताक्षरित पत्रमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै देशभरका ७५३ वटै स्थानीय तहलाई यसको प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि अनुरोध गरिएको छ। केही विद्यालयले शैक्षिक सत्र सुरु हुनुअगावै विद्यार्थी भर्ना गर्ने, अग्रिम शुल्क असुल गर्ने र स्वीकृत शीर्षकभन्दा बाहिर गएर चर्को शुल्क लिने गरेको गुनासो बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो।

मन्त्रालयले जारी गरेको पत्रमा शिक्षा नियमावली २०५९ को परिच्छेद १५ लाई उद्धृत गर्दै शैक्षिक सत्र सुरु नभई कसैले पनि विद्यार्थी भर्ना गर्न नपाउने कानुनी व्यवस्थाको स्मरण गराएको छ। ‘प्रचलित कानुनअनुसार भर्ना भएपश्चात मात्र स्वीकृत शीर्षकमा शुल्क लिन पाइने व्यवस्था हुँदाहुँदै विद्यार्थीबाट अग्रिम र बढी शुल्क असुलिएको, फरक शीर्षकमा रकम लिइएको र एउटै विद्यालयमा कक्षा परिवर्तन हुँदा पुनः भर्ना शुल्क लिइएको पाइएको छ,’ पत्रमा उल्लेख गरिएको छ।

यसका साथै, सर्वोच्च अदालतको फैसलालाई समेत आधार मान्दै मन्त्रालयले नियमविपरीत र कानुनी प्रावधानभन्दा बाहिर गएर लिइएको अग्रिम शुल्क तत्काल सम्बन्धित अभिभावक वा विद्यार्थीलाई फिर्ता गराउन भनेको छ। यदि कुनै विद्यालयले यो निर्देशनको उल्लंघन गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न स्थानीय तहहरूलाई अधिकार प्रत्यायोजन गरिएको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖