• Friday 9th of October 2026

सरकारले बजेटमा ‘कैँची’ चलाएको भन्दै आक्रोश : ‘बजेट बनाउने अधिकार संसद्को हो, क्याबिनेटको होइन


  • धनकुटा खबर
  • .

मकवानपुर । बागमती प्रदेशसभाका पूर्वमुख्यमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपाका नेता शालिकराम जम्कट्टेलले सरकारले संसद्‌बाट पारित भएको बजेटमा ‘कैँची’ चलाएर विधिको शासन उल्लङ्घन गरेको बताए । उनले सरकारले रातो किताबमा परेका योजनाहरूको बजेट कटौती गरेर कार्यकर्तामुखी योजनामा रकमान्तर गरेको भन्दै आपत्ति व्यक्त गरे ।

मंगलबारदेखि सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनको बैठकमा बोल्दै नेता जम्कट्टेलले जेनजी पुस्ताले उठाएका मुद्दा र आन्दोलनले सुशासनको माग गरिरहेको बेला सरकार भने कुशासनको बाटोमा लागेको बताए । सरकारले ल्याएको बहुवर्षीय ठेक्का मापदण्ड र विकासका कार्यक्रमको बजेट कटौतीको गरेको उनले बताए । सरकारले चालुतर्फ २ अर्ब ३१ करोड र पुँजीगततर्फ ५ अर्ब २८ करोड गरी कुल ७ अर्ब ५९ करोड रुपैयाँ विनियोजित बजेटबाट कटौती गरेको उनको भनाई छ ।

‘जनताले सुशासन चाहेका छन् । तर सरकार आफैँले सुशासन बिगारेर कुशासनको बाटो रोजेको छ । विगतको समीक्षा गरेर अघि बढ्नुपर्नेमा सरकार उल्टो बाटोमा हिँडिरहेको छ ।’ उनले भने, ‘असार १ गते संसद्‌मा पेस गरेर पास भएको बजेट कार्यान्वयन गर्न उपभोक्ता जाँदा बजेट जिरो छ । यो कस्तो शासन हो ? बजेट बनाउने र कार्यक्रम पास गर्ने पहिलो अधिकार संसद्को हो । क्याबिनेटले धमाधम बहुवर्षीय योजना निर्णय गर्दै जाने यो गलत बाटो हो ।’

नेता शालिकराम जम्कट्टेलले सरकारले विधि र प्रक्रिया मिचेर काम गर्दा प्रदेशको प्रशासनिक संयन्त्र नै भताभुङ्ग हुने बताए । उनका अनुसार प्रतिपक्ष दल जिम्मेवार रहेको र सरकारलाई सघाउन तयार रहेको उनले बताए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖