• Friday 9th of October 2026

मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर : बालेनसँग अब तीन मन्त्रालय


  • धनकुटा खबर
  • .

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई बर्खास्ती भएको सूचना प्राप्त भएपछि राष्ट्रपति कार्यालयले मन्त्रिमण्डलको कार्यविभाजन हेरफेरको नयाँ सूचना दिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले बिहीबार मात्रै श्रममन्त्री साहलाई पदमुक्त गरेका थिए ।

त्यसअघि रास्वपा सभापति रवि लामिछानेले श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए ।

सोही सिफारिसका आधारमा प्रधानमन्त्री बालेनले साहलाई वर्खास्त गरेर सोको सूचना राष्ट्रपति कार्यालय पठाएका थिए । प्रधानमन्त्री बालेनको सिफारिसका आधारमा बिहीबार दिउँसो नै राष्ट्रपति रामचन्द्र पौडेलले कार्यविभाजन हेरफेर गरेका छन् ।

त्यसबारे राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार अब प्रधानमन्त्री बालेनसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहेक तीन मन्त्रालयको जिम्मेवारी कायम भएको छ ।

जसमा रक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी बालेनसँग रहेको उल्लेख छ ।

अन्य १३ जना मन्त्रीलाई भने साबिककै जिम्मेवारीमा कायम राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖