काठमाडौ । सामजिक संजालमा गुनासो, सरकार एक्शनमा
अध्यागमन विभागले संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको राहदानीमा हस्तलिखित रूपमा ‘Employment is strictly prohibited’ लगायतका शब्द लेख्ने कर्मचारीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ। राहदानीमा प्रस्थान छापसँगै अतिरिक्त टिप्पणी लेखिएको विषय सार्वजनिक भएपछि यात्रुहरूबाट गुनासो र विरोध बढेपछि विभागले आन्तरिक छानबिन सुरु गरेको जनाएको छ।
विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालले जारी गरेको सूचनामा राहदानीमा ‘Visit till’ वा ‘Not allowed to work UAE’ जस्ता शब्द लेखिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। नागरिकहरू विदेश जानु रहर मात्र नभई धेरैका लागि बाध्यता समेत भएको अवस्थामा उनीहरूको अवस्थाको दुरुपयोग गर्दै हुने ठगी र शोषण नियन्त्रण गर्न विभागले प्रयास गरिरहेको पनि जनाइएको छ।
सरकारले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि सरलीकृत मापदण्ड लागू गरिसकेको छ। यसअनुसार कम्तीमा ६ महिना वैध राहदानी, गन्तव्यसम्मको हवाई टिकट र सम्बन्धित देशको भिसा भएमा स्वघोषणासहित विदेश जान पाउने व्यवस्था गरिएको छ। अनावश्यक कागजात माग्ने र तजबिजीका आधारमा निर्णय गर्ने प्रवृत्ति नियन्त्रण गर्न यस्तो व्यवस्था लागू गरिएको हो।
विभागले कुनै पनि नेपाली नागरिकलाई कानुनबाहिर गएर अतिरिक्त सर्त तोकेर प्रस्थान अनुमति दिने नीति नरहेको स्पष्ट पारेको छ। प्रचलित कानुन र विभागीय निर्णय विपरीत काम गर्ने कर्मचारीलाई कारबाहीका लागि छानबिन अघि बढाइएको विभागले जनाएको छ। साथै यात्रुहरूको आवागमनलाई सहज बनाउन अध्यागमन प्रणालीलाई थप आधुनिक बनाउने काम पनि भइरहेको उल्लेख गरिएको छ।
