• Thursday 8th of October 2026

शेखर-शशांक पक्षको निष्कर्ष- गगनको नेतृत्व मान्ने, देउवा पक्षको छलफलमा नजाने


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र शशांक कोइरालानिकट नेताहरूले आज छलफल गरेर सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै पार्टीको बृहत्तर एकताका पक्षमा उभिने निष्कर्ष निकालेको छ।
शेखरको सम्पर्क कार्यालय विशालनगरमा आज बिहान छलफल भएको थियो। शेखर भने विराटनगर रहेका कारण सहभागी थिएनन्।

नेता शेखरसँग समन्वय गरी निवर्तमान उपसभापति धनराज गुरूङले छलफल राखेका थिए। उक्त छलफलमा पूर्वमहामन्त्री शशांक कोइरालासहित उनी पक्षका नेता तथा सांसदहरू पनि उपस्थित थिए।
निवर्तमान उपसभापति धनराज गुरूङले शेखर र शशांक कोइराला पक्षबीच आज बिहान छलफल भएको र अदालतको फैसला स्वीकार गर्दै पार्टीको बृहत्तर एकताका पक्षमा लाग्ने निष्कर्ष निकालिएको जानकारी दिए।

‘लोकतन्त्र र प्रजातन्त्रमा विश्वास गर्नेहरूले न्यायलयको फैसला नमान्ने कुरा हुँदैन, हामी लोकतन्त्रवादीहरू स्वतन्त्र न्यायलयको फैसला स्वीकार गरिहाल्छौं, गर्दै आएको पनि हो,’ उनले भने, ‘यो पार्टीलाई अझ सुधार गरेर लैजाने जिम्मेवारीबोध हामी सबैलाई भएको छ। हामी पार्टीको बृहत्तर हित र एकताका पक्षमा लाग्छौं।’

आजको छलफलमा निवर्तमान उपसभापति गुरूङ, पूर्वमहामन्त्री शशांक कोइराला, निवर्तमान सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे, नेताहरू मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, सरिता प्रसाईं, चन्द्रमोहन यादव, सीता थपलियालगायत सहभागी थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖