• Thursday 8th of October 2026

सम्भव सिरोहियाले दिए कान्तिपुर मिडिया ग्रुप (केएमजी) को प्रबन्ध निर्देशक पदबाट राजीनामा


  • धनकुटा खबर
  • .

काठमाडौ । सम्भव सिरोहिया ले कान्तिपुर मिडिया ग्रुप (केएमजी) को प्रबन्ध निर्देशक पदबाट राजीनामा दिएका छन्। उनले बिहीबारदेखि लागू हुने गरी पद त्यागेको जानकारी संस्थाका कर्मचारीलाई पठाएको सन्देशमार्फत दिएका हुन्।

राजीनामाको मुख्य कारणका रूपमा उनले पछिल्लो समय कान्तिपुरमा प्रकाशित तथा प्रसारित सामग्रीप्रति असहमति जनाएका छन्। विशेष गरी पूर्वगृहमन्त्री सुधन गुरुङ सँग सम्बन्धित समाचार श्रृङ्खलालाई लिएर उनले गम्भीर आपत्ति व्यक्त गरेका छन्। उनका अनुसार ती सामग्रीहरू सनसनीपूर्ण ढंगले प्रस्तुत गरिएको छ र प्रमाणित नभइसकेका आरोपलाई प्राथमिकता दिइएको छ।

“मैले विश्वास नगरेको पत्रकारितासँग आफ्नो नाम जोडेर रूपान्तरणको नेतृत्व गर्न सक्दिनँ,” उनले राजीनामा सन्देशमा उल्लेख गरेका छन्। उनले नयाँ सरकारले काम गर्न सुरु गरिसकेको अवस्थामा अप्रमाणित आरोपमार्फत सरकारलाई कमजोर बनाउने प्रयास भएको पनि दाबी गरेका छन्।

यसअघि पनि सिरोहियाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङबारेको रिपोर्टिङलाई “मिसन पत्रकारिता जस्तो देखिन्छ, तर कसको मिसन हो थाहा छैन” भन्दै प्रश्न उठाएका थिए।

सिरोहियाले आफ्नो कार्यकालको उपलब्धि पनि उल्लेख गरेका छन्। उनका अनुसार आफू नेतृत्वमा आउँदा संस्थाको वार्षिक घाटा ६० करोडभन्दा बढी रहेकोमा पछिल्लो सुधारपछि कम्पनी नाफाउन्मुख भएको थियो। उनले संस्थालाई यो अवस्थामा ल्याउन योगदान दिने सम्पूर्ण टिमप्रति आभार व्यक्त गरेका छन्।

उनी २०८० असोज १ गते केएमजीको प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए। साथै उनी कैलाश सिरोहिया का छोरा हुन्।

सिरोहियाको राजीनामासँगै मिडिया हाउसभित्र सम्पादकीय सामग्री र व्यवस्थापनबीचको सम्बन्ध, पत्रकारिताको अभ्यास र नैतिकताबारे नयाँ बहस सुरु भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖