काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आज(शुक्रबार)साँझ ७ बजेसम्म सुकुमवासी बस्ती खाली गराउन सूचना जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक सीडीओ एवं प्रवक्ता मुक्तिराम रिजालले जारी गरेको विज्ञप्तिमा नदी किनारका सार्वजनिक, सरकारी पर्ती जग्गाहरूमा बनेका संरचना हटाउन भनिएको हो ।
यदी उक्त समयमा बस्ती खाली नभए संयुक्त कारबाही गरी संरचनाहरू भत्काइने जारी सूचनामा उल्लेख छ ।
‘यदि कोही कसैले यस सूचनालाई अटेर गरी बसेको खण्डमा स्थानीय प्रशासन, प्रहरी र काठमाडौं महानगरपालिका समेतको संयुक्त कारबाही गर्दा भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार तपाईं स्वयं हुनुहुनेछ,’ जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

