काठमाडौँ । गायिका रचना रिमाललाई गृहजिल्ला झापा जाने क्रममा खराब मौसमले निकै सास्ती दिएको छ ।
मौसममा आएको खराबीका कारण उनको झापा उडान दुई दिनदेखि प्रभावित भएको हो ।
सामाजिक सञ्जालमा आफ्नो यात्राको अनुभव साझा गर्दै गायिका रिमालले मौसमका कारण आफूले भोग्नुपरेको हैरानीबारे जानकारी दिएकी छिन् । उनका अनुसार, हिजो (शनिबार) काठमाडौँबाट झापाका लागि उडेको जहाज केही समयपछि मौसमकै खराबीका कारण पुनः काठमाडौँ नै फर्किएको थियो । आज (आइतबार) बिहान फेरि झापाका लागि उडेको जहाज जनकपुरमा आकस्मिक अवतरण गरिएको छ ।
उनी लेख्छिन्, ‘कहिलेकाहीँ मौसमले साथ दिँदैन । हिजो झापा जाँदै गर्दा मौसम खराबीका कारण उडेको केही समयपछि प्लेन काठमाडौँ फर्कियो । आज बिहान फेरि झापा उडेको प्लेन मौसम खराबीका कारण जनकपुर ल्यान्ड भयो ।’
पछिल्लो केही दिनयता देशभरको मौसममा आएको बदलीसँगै आन्तरिक उडानहरू प्रभावित भइरहेका छन् ।
