• Thursday 8th of October 2026

भारतबाट भित्रँदैछ हावाहुरीसहित वर्षा गराउने बादल, पूर्वमा पनि सक्रिय छ अर्को प्रणाली


  • धनकुटा खबर
  • .

काठमाडौ । भारतबाट हावाहुरीसहित वर्षा गराउने बादल नेपालतर्फ सरिरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

मौसमविद् सरोज पुडासैनीका अनुसार भारतमा विकसित उक्त हावाहुरीसहित वर्षा गराउने बादल पश्चिमबाट नेपाल प्रवेश गर्ने क्रममा रहेको छ। हाल उक्त बादल कञ्चनपुर आसपास आइपुगिसकेको छ।

मौसम पूर्वानुमान महाशाखाले बुधबारका लागि विशेष बुलेटिन जारी गर्दै हावाहुरीसम्बन्धी चेतावनी दिएको छ।

महाशाखाले बुधबार अपराह्न ४ बजेदेखि बिहीबार बिहान ६ः४५ बजेसम्म तीव्र गतिको हावाहुरीको सम्भावना देखाएको छ।

‘भारतमा विकास भएको बादल क्रमशः नेपालतर्फ सर्दैछ। त्यो नेपालको कञ्चनपुर आसपास आइपुुगिसकेको छ। नेपालको पूर्वी भूभाग नजिकै पनि एउटा न्यूनचापीय प्रणाली बनेको छ। पश्चिमी न्यूनचापीय प्रणालीले बनाएको एउटा सिस्टम र देशको पूर्वी भागको अर्को सिस्टम एकापसमा जुध्दा कहिलेकाहीँ यस्तो हुने गर्छ। त्यसकारण विभागले विशेष बुलेटिन जारी गर्नुपरेको हो,’ पुडासैनीले भने।

उनका अनुसार विभागले तीव्र गतिको हावाहुरीको अनुमान गरेको छ। यसको तीव्रता २०–२५ मिटर प्रतिसेकेन्ड हुने पूर्वानुमान गरिएको छ। यसको तीव्रता ठाउँपिच्छे फरक हुने पुडासैनीको भनाइ छ।

महाशाखाले बुधबार सुदूरपश्चिमको कञ्चनपुर, डडेलधुरा र डोटी आसपासका जिल्ला, लुम्बिनी प्रदेशको बर्दिया, बाँके, दाङ, अर्घाखाँची, नवलपरासी आसपासका जिल्लामा हावाहुरीको जोखिम रहेको पूर्वानुमान गरेको छ।

गण्डकीको नवलपुर, बागमतीको चितवन आसपासका जिल्ला र मधेस प्रदेशका बारा, पर्सा र धनुषा जिल्लामा हावाहुरीको पूर्वानुमान छ।
कोशी प्रदेशमा झापा, मोरङ आसपासका जिल्लामा हावाहुरीको अनुमान गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖