• Wednesday 7th of October 2026

आरोप प्रमाणित भए राजनीतिबाट संधैका लागि बिदा लिन्छु : सांसद जगदीश खरेल


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल ले आफूलाई स्मार्ट टेलिकमको ३० अर्ब रुपैयाँ ठगी प्रकरणसँग जोडेर प्रकाशित गरिएका समाचारप्रति कडा आपत्ति जनाउँदै आरोप प्रमाणित भए राजनीतिबाट सधैंका लागि बिदा लिने घोषणा गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद खरेलले आफूविरुद्ध प्रकाशित समाचारहरू भ्रामक, निरर्थक र तथ्यहीन भएको दाबी गरे। उनले स्मार्ट टेलिकम प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै आफूले उक्त विषयमा कुनै बैठक, फाइल पारित वा सम्बन्धित निकायसँग छलफलसमेत नगरेको बताए।

खरेलले भने, “स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा मलाई जोडेर स्वीट्जरल्याण्ड भागेको भनेर समाचार प्रकाशित गरियो। यस्तो समाचारले मेरो मान–सम्मान, इज्जत, राजनीतिक जीवन र समग्र संसद्कै गरिमा माथि आघात पुगेको महसुस गरेको छु।”

उनले संसद्मा आफ्नो कुरा रेकर्डमा रहोस् भन्दै उक्त समाचारप्रति खेद र भर्त्सना व्यक्त गरे। साथै उनले समाचार प्रकाशन गर्ने पक्षलाई खुला चुनौतीसमेत दिए।

“यदि म स्मार्ट टेलिकम प्रकरणमा संलग्न भएको प्रमाणित गर्न सकिन्छ भने म मेरो सम्पूर्ण राजनीतिक जीवनबाट सधैंका लागि बिदा लिन तयार छु,” उनले भने, “तर प्रमाणित गर्न नसक्ने हो भने यस्ता भ्रामक समाचार लेख्नेहरूले पनि आफ्नो जिम्मेवारी लिनुपर्छ।”

सांसद खरेलले पत्रकारिताको विश्वसनीयतामाथि समेत प्रश्न उठाउँदै तथ्यहीन समाचारले व्यक्तिको प्रतिष्ठामाथि गम्भीर असर पार्ने टिप्पणी गरे। उनले आफूविरुद्ध नियोजित रूपमा गलत प्रचार गरिएको दाबी पनि गरेका छन्।

उनको यो अभिव्यक्तिपछि संसद् र राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। सामाजिक सञ्जालमा समेत सांसद खरेलको चुनौतीपूर्ण अभिव्यक्ति व्यापक रूपमा चर्चामा आएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖