काठमाडौँ । प्रतिनिधिसभा सदस्य महावीर पुनले आफूले लामो समयदेखि उठाउँदै आएको माग सरकारले सम्बोधन गरेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले संसद्मा दुई दिनअघि उठाएको विषय र तीन साताअघि प्रधानमन्त्रीलाई बुझाएको लिखित प्रस्तावअनुसार छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन भएको उल्लेख गरेका हुन्।
पुनले अब उक्त मन्त्रालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम, देशभक्त वैज्ञानिक र अनुसन्धानकर्ताहरूले आवश्यक सुझाव तथा योजना लिएर अघि आउनुपर्ने बताएका छन्।
उनले नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्दै मन्त्रालय गठनलाई सकारात्मक कदमका रूपमा व्याख्या गरेका छन्। साथै, रिसको आवेगमा नेताहरूलाई दिएको ‘श्राप’ समेत फिर्ता लिएको टिप्पणी गरेका छन्।
महावीर पुनले लामो समयदेखि छुट्टै विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय गठन गर्न माग गर्दै आएका थिए। सरकारले हालै मन्त्रालय पुनर्संरचनासँगै ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गर्ने निर्णय गरेको हो।
