चेन्नई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको आगामी फिल्म ‘जेलर २’ को सेटमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ । चेन्नईको इस्ट कोस्ट रोडमा रहेको पनैयुरको आदित्यराम फिल्म सिटीको सेटमा दुर्घटना भएको हो ।
पीटीआईको समाचारअनुसार, मृतकको पहिचान २८ वर्षीय कार्तिकेयनको रूपमा गरिएको छ । यो दुर्घटना पनैयुरमा सुटिङ स्थलमा भएको हो । रिपोर्टका अनुसार, फिल्मको सुटिङको लागि घर जस्तो सेट तयार गर्ने काम गरिरहँदा कार्तिकेयनलाई बिजुलीको झट्का लागेको थियो । त्यसपछि उनको मृत्यु भएको छ ।
प्रहरीका अनुसार कार्तिकेयन कला निर्देशनको काममा संलग्न थिए । कनाथुर प्रहरीले यस घटनामा कुनै पनि एफआईआर दर्ता नभएको बताएको छ । प्रहरीले विद्युतीय चुहावट के कारणले भयो भनेर अनुसन्धान गरिरहेको बताएको छ ।
जेलर–२ को छायाङ्कन पुरा
निर्माण कम्पनी सन पिक्चर्सले फिल्मको छायाङ्कन पूरा भएको घोषणा गरेको केही दिनपछि यो घटना भएको हो । अप्रिल २१ मा निर्माताहरूले सामाजिक सञ्जालमा र्याप अप पार्टीका तस्बिरहरू सेयर गरेका थिए । यसमा रजनीकान्त र निर्देशक नेल्सनले कलाकार र क्रुसँग केक काटिरहेको देखाइएको थियो ।
रजनीकान्तले पहिले मिडियालाई फिल्म जुन १२ मा रिलिज हुने बताएका थिए । पिंकभिल्लाको हालैको रिपोर्टले फिल्मको रिलिज मिति परिवर्तन हुनसक्ने बताएको छ । फिल्म सन् २०२६ को सेप्टेम्बर ४ मा कृष्ण जयन्तीको अवसरमा रिलिज हुने अपेक्षा गरिएको छ ।
फिल्म २०२३ को ब्लकबस्टर जेलरको सिक्वेल हो । राम्या कृष्णन, योगी बाबु र मिर्ना आफ्नो पुरानो भूमिकामा फर्कनेछन् । फिल्मको पहिलो भागमा मोहनलाल, शिवराजकुमार र ज्याकी श्राफले छोटो भूमिका निर्वाह गरेका थिए । यसमा विनायकन, वसन्त रवि, तमन्ना भाटिया र सुनिल पनि महत्त्वपूर्ण भूमिकामा देखिएका थिए ।
स्याकनिल्कका अनुसार लगभग २०० करोड भारुको बजेटमा बनेको जेलरले विश्वव्यापी रूपमा ६०४ करोड ५० लाख भारु कमाएको थियो ।
