काठमाडौं । रवि लामिछाने, फरार रहेका गितेन्द्रबाबु राई तथा पूर्वडिआइजी छविलाल जोशी सहित अन्य प्रतिवादीविरुद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता भएको छ।
कास्की जिल्ला अदालत का न्यायाधीश हिमलाल बेलबासे को इजलासले शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयको निवेदन सदर गर्दै सहकारी ठगीबाहेकका दुई कसुर हटाउने आदेश दिएको हो।
तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी ले स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग हटाई सहकारी ठगीको मुद्दा मात्रै कायम राख्न अदालतमा निवेदन दिएको थियो। अदालतले उक्त माग मनासिब रहेको ठहर गर्दै अभियोग संशोधन गर्ने निर्णय गरेको हो।
अदालतको आदेशमा पीडित बचतकर्ताको रकम शीघ्र फिर्ता गराउने उद्देश्यलाई मुख्य आधार मानिएको छ। आदेशअनुसार सुरूमा सरकारले यी दुई कसुरमा अभियोग नलगाएको, जाहेरीकर्ताले पनि त्यस्तो माग नगरेको तथा सहकारी ठगीको अभियोग भने यथावत रहने उल्लेख गरिएको छ।
अदालतले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग कायम रहे मिलापत्रमार्फत रकम फिर्ता प्रक्रिया जटिल बन्न सक्ने पनि उल्लेख गरेको छ। साथै अभियोजनकर्ताको नियतमाथि कुनै दुराशय नदेखिएको भन्दै संशोधनलाई न्यायोचित ठहर गरिएको आदेशमा उल्लेख छ।
