काठमाडौं । निर्वाचन समीक्षा र कार्य विभाजन गर्न बसेको नेकपा एमालेको बैठकले समग्र पार्टी जीवनको बस्तुस्थितिको प्रतिवेदन तयार गर्न उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल गठन गरेको छ ।
कार्यदलमा उपाध्यक्ष विष्णु पौडेल, पृथ्बी सुव्वा गुरुङ, शंकर पोखरेल, लेखराज भट्ट,छविलाल विश्वकर्मा र सात वटै प्रदेशका इन्चार्ज सहभागी छन् ।
कार्यदललाई पार्टीको समग्र समीक्षा प्रतिवेदन बुझाउन एक महिनाको समय सीमा तोकिएको छ । गत सोमबार सुरु भएर आज आइतबार सकिएको बैठकमा नेताहरूको कार्य विभाजन समेत समेत गरिएको छ।
बैठकले केन्द्रीय कमिटीका सबै सदस्यहरूको कार्य विभाजन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।एमाले सचिव शेरधन राईका अनुसार बैठकपछि नेकपा एमाले नयाँ ढङ्गले अघि बढ्ने कार्यदिशा तय गरेको छ ।
‘कमीकमजोरी सच्याउँदै अब नेकपा एमाले नयाँ ढङ्गले अघि बढ्ने अपेक्षा छ’, सचिव राईले भने, ‘अब उपाध्यक्ष थापा नेतृत्वको कार्यदलको सुझाव अनुसार एमाले अघि बढ्छ ।’
अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आइतबार १२ बजेदेखि बसेको बैठकमा नेताहरूले आफ्ना धारणा राखेर कार्य विभाजनमाथिको छलफलपछि अध्यक्ष ओलीले जवाफ दिएका थिए ।
बैठकमा पार्टी पुनर्गठनको पक्षमा अधिकांश नेताहरूले धारणा राखेपछि अध्यक्ष ओली पद छाड्नुपर्ने दबाबमा छन् ।
