• Thursday 8th of October 2026

धार्मिक र सामाजिक सद्भाव खल्बल्याउने बिरुद्ध गम्भीर हुन प्रहरीलाई गृहमन्त्रीकाे निर्देशन


  • धनकुटा खबर
  • .

काठमाडाैं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक र सामाजिक सद्भाव खल्बल्याउने क्रियाकलाप बिरुद्ध गम्भीर रुपमा लाग्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

६८ औं प्रहरी दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले केही जिल्लाहरुमा देखिएको धार्मिक र सामाजिक सद्भाव खल्वलाउने घटनालाई संवदेनशील रुपमा लिनुपर्ने भन्दै यस्ता क्रियाकलापबिरुद्ध गम्भीर रुपमा लाग्न नेपाल प्रहरीलाई निर्देशन दिएका हुन्।

यस्ता घटनाको नियन्त्रण र भविष्यमा दोहरिन नदिन सरकार र राजनीतिक पक्ष पनि गम्भीर हुनै पर्ने उनले बताए।

उनले अपराधका नयाँ प्रकृतिलाई निष्तेज पार्न र गहन रुपमा अनुसन्धान गर्न संगठनलाई थप प्रविधिमैत्री बनाउँदै अघि बढाउनुपर्ने भएकाले प्रहरीलाई आवश्यक स्रोत साधान उपलव्ध गराउन सरकार प्रतिवद्ध रहेको दाबी गरे।

नेपाल प्रहरीको आवश्यक भूमिका र कतव्र्यबोधले मात्रै मुलुकको समृद्धि, सुशासन र कानूनी राज्यको प्रत्याभूत हुने भएकाले यसतर्फ गम्भीर हुन पनि उनले निर्देशन दिए।

त्यस्तै नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुँवरले पारदर्शी, जवाफेदेही, मानवअधिकारको संरक्षण लगाएतमा संगठनको काम कारवाही उत्कृष्ठ हुने प्रतिवद्धता जनाए। प्रहरी कर्मचारीको उत्प्रेरणा तथा मनोबल अभिवृद्धि मार्फत प्रहरी सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्दै आन्तरिक सुदृढीकरण र शुद्धीकरणको लक्ष्यसहित नेपाल प्रहरी कार्ययोजना,२०८० तर्जुमा गरिएको उनले बताए।

कार्यक्रममा प्रहरी दिवस २०८० स्मारिका र नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण पुस्तिका लोकार्पण समेत गरिएको थियो भने अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖