रुपन्देही/अर्घाखाँची – अर्घाखाँचीको पाणिनी गाउँपालिका–खिदिमकी ३६ वर्षीया सरस्वती दर्लामी बाँदरको आक्रमणबाट गम्भीर घाइते भएकी छन्।
स्थानीय स्रोतका अनुसार मेला गइरहेकी दर्लामीमाथि बाटोमै बाँदरले आक्रमण गरेको थियो। आक्रमणका क्रममा बाँदरले उनका कपडा च्यातिदिएको र शरीरका विभिन्न भागमा चोट पुर्याएको बताइएको छ। गम्भीर घाइते भई बेहोस अवस्थामा रहेकी उनलाई छिमेकीहरूले उद्धार गरी घर पुर्याएका थिए।
गाउँपालिकाकी पूर्वउपाध्यक्ष लक्ष्मी गौतमले दर्लामीलाई बाँदरले निर्वस्त्र बनाउने गरी आक्रमण गरेको र हाल गाउँमा बाँदर आतंकका कारण सर्वसाधारण त्रसित बनेको बताइन्।
उनका अनुसार गाउँपालिकाले यसअघि बन्दूक पड्काउने, जाली लगाउने तथा भोटे कुकुर पाल्न प्रोत्साहन गर्ने जस्ता उपाय अपनाए पनि समस्या नियन्त्रणमा आउन सकेको छैन। बाँदरको संख्या बढ्दै जाँदा गाउँमा एक्लै हिँडडुल गर्नसमेत कठिन भएको र विशेषगरी महिला तथा बालबालिका बढी प्रभावित भएको स्थानीयको गुनासो छ।
स्थानीयवासीहरूले बाँदर नियन्त्रणका लागि प्रभावकारी कानुनी तथा व्यवस्थापकीय उपाय अवलम्बन गर्न सरकारसँग माग गरेका छन्।
