• Tuesday 6th of October 2026

रोएको भिडिओ हालेर बनस्थलीमा लुकेकी थिइन् शोभा, रातभरि खोजेर प्रहरीले लियो नियन्त्रणमा


  • धनकुटा खबर
  • .

काठमाडौं । सामाजिक सञ्जालमा आफूले “अन्तिम भिडियो” भन्दै भावुक सन्देश पोस्ट गरेपछि सम्पर्कविहीन बनेकी शोभा पाठकलाई प्रहरीले सकुशल उद्धार गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबारदेखि खोजीमा रहेकी पाठकलाई काठमाडौं महानगरपालिका–१६, बनस्थलीस्थित बाबुछिरी मार्गको एक घरबाट आइतबार फेला पारिएको हो। उद्धारपछि उनलाई स्वयंभूस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको छ।

प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार पाठकले प्रयोग गर्ने मोबाइल नम्बरको लोकेशन ट्रेस गरी खोजी अभियान सञ्चालन गरिएको थियो। सामाजिक सञ्जालमा भिडियो सन्देश पोस्ट गरेपछि उनले आफ्ना इलेक्ट्रोनिक उपकरणहरू बन्द गरेकी थिइन्, जसका कारण प्रारम्भिक खोजीमा कठिनाइ भएको थियो।

रातभरि गरिएको खोजीका क्रममा उनी फेला नपरे पनि पछि मोबाइल फोन केही समय सक्रिय भएपछि प्राप्त लोकेशनका आधारमा बनस्थलीस्थित घरमा उनी रहेको पत्ता लागेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पाठक भेटिएको घर उनको आफ्नै नभई अन्य व्यक्तिको रहेको खुलेको छ। उनी त्यहाँ किन पुगेकी थिइन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

उद्धारका क्रममा पाठकले प्रहरीलाई भेट्न अस्वीकार गर्दै घरभित्रै बस्ने प्रयास गरेकी थिइन्। त्यसपछि प्रहरीले आवश्यक प्रक्रिया अपनाएर उनलाई नियन्त्रणमा लिई स्वास्थ्य परीक्षण तथा मनोपरामर्शका लागि अस्पताल पुर्‍याएको जनाएको छ।

प्रहरीले प्रारम्भिक रूपमा आत्महत्याको कुनै प्रत्यक्ष तयारी भेट्टाएको छैन। यद्यपि, उनी मानसिक तनावमा रहेको अनुमान गर्दै चिकित्सकको निगरानीमा राखिएको र आवश्यक काउन्सिलिङ भइरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖