बाग्लुङ । बाग्लुङमा २६ वर्षीया एक महिलाले आफ्ना प्रेमीसँग मिलेर ६३ वर्षीय पतिको हत्या गरेको घटना सार्वजनिक भएको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पत्नी लक्ष्मी नेपाली, उनका प्रेमी ३८ वर्षीय राम आकाश विश्वकर्मा र आसपुरे कामीलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख एसपी फणीन्द्र प्रसाईका अनुसार मजदुरी गर्ने क्रममा लक्ष्मी र राम आकाशबीच निकटता बढेको थियो। उक्त सम्बन्धलाई लिएर पति देउबहादुर सार्कीले पटक–पटक आपत्ति जनाउँदै आएका थिए।
प्रहरीका अनुसार गत सोमबार काममा जाने क्रममा उकालो चढेपछि उनीहरू एक प्रतीक्षालयमा आराम गरिरहेका बेला देउबहादुर र लक्ष्मीबीच विवाद भएको थियो। सो क्रममा देउबहादुरले राम आकाशलाई देखाउँदै लक्ष्मीलाई गाली गरेपछि झगडा चर्किएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार राम आकाशले देउबहादुरलाई मुक्का प्रहार गरेका थिए भने त्यसपछि लक्ष्मीले ढुंगाले हानेकी थिइन्। घटनास्थलमा रहेका आसपुरे कामीले समेत देउबहादुरमाथि ढुंगा प्रहार गरेको प्रहरीको भनाइ छ। आक्रमणबाट देउबहादुर अचेत भएपछि तीनै जना घटनास्थलबाट भाग्न खोजेका थिए।
भाग्ने क्रममा उनीहरूको व्यवहार शंकास्पद देखिएपछि चेकपोस्टमा खटिएका प्रहरीले रोक्न खोज्दा लुगामा रगत लागेको भेटिएको थियो। त्यसपछि नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरूले ढुंगा प्रहार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा लक्ष्मीले यसअघि पनि दुई जनासँग विवाह गरेको र ती सम्बन्धबाट सन्तान जन्मिएको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
