• Tuesday 6th of October 2026

बिहानै मदिराले मातेपछि…


  • धनकुटा खबर
  • .

बाजुरा। बाजुराको बूढीनन्दा नगरपालिकामा मदिरा सेवनपछि सिर्जित सामान्य विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ। बूढीनन्दा नगरपालिका-६ कोटिलाका टेकेन्द्र रावतले प्रहार गरेको ढुङ्गाले लागेर स्थानीय नीर रावतको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार स्थानीय एक होटलमा दुवै जनाले सँगै बसेर मदिरा पिएका थिए। मदिराले मातेका टेकेन्द्र र नीरबीच होटलमै भनाभन र विवाद सुरु भएको थियो।

सोही विवाद बढ्दै जाँदा रिसको झोकमा टेकेन्द्रले नीरमाथि ढुङ्गा प्रहार गरेका थिए। टाउको तथा शरीरको संवेदनशील भागमा ढुङ्गाले लागेका कारण नीरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

आज बिहान भएको यस घटनाबारे स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला र स्थानीय प्रहरी चौकीबाट विशेष प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गर्नुका साथै अभियुक्तको खोजी र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖