• Tuesday 6th of October 2026

सानिगाड हाइड्रोको आईपीओ भर्ने अन्तिम मौका आज, आवेदन नदिएकाले हतार गर्नुपर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ जेठ । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले बैंक तथा वित्तीय संस्था वा ‘मेरो सेयर’मार्फत आजभित्र आवेदन दिनुपर्नेछ।

कम्पनीले जेठ १८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४६ लाख ७४ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। यो कम्पनीलाई स्वीकृत कुल ८५ लाख ५० हजार कित्ता आईपीओमध्ये दोस्रो चरणअन्तर्गत निष्कासन गरिएको हिस्सा हो।

यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २८ लाख ५० हजार कित्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख ७० हजार कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ।

हाल खुला गरिएको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ।

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखामार्फत वा ‘मेरो सेयर’ प्रणाली प्रयोग गरेर आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सम्हालेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖