• Wednesday 7th of October 2026

यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न ६ वटा सहकारी संस्थालाई आफूले बहालमा लिएको घर, कोठा वा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ।

महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिभित्र सम्पर्कमा नआए सम्बन्धित कार्यालय महानगरले आफैँ खाली गराउने चेतावनी दिएको हो।

महानगरको न्यायिक समितिले यसअघि नै ती सहकारी संस्थाहरूले भाडामा लिएका स्थान खाली गर्नुपर्ने निर्णय गरिसकेको थियो। सोही निर्णय कार्यान्वयन गर्न गत जेठ १३ गते बसेको कार्यान्वयन समितिको बैठकले १५ दिने सूचना जारी गर्ने निर्णय गरेको थियो।

सूचनामा सम्बन्धित सहकारीका पदाधिकारी, कर्मचारी तथा सदस्यहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काठमाडौँ महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागमा सम्पर्क गर्न आग्रह गरिएको छ।

महानगरका अनुसार तोकिएको अवधिभित्र सम्बन्धित पक्ष सम्पर्कमा नआए न्यायिक समितिको निर्णयअनुसार कार्यालय खाली गराइनेछ। कार्यालय खाली गराउँदा त्यहाँ रहेका सम्पूर्ण सरसामान सम्बन्धित घरधनीको जिम्मा लगाइने र त्यसपछि सहकारी संस्थाले उक्त सम्पत्तिमाथि कुनै दाबी गर्न नपाउने उल्लेख गरिएको छ।

कारबाहीको सूचीमा काठमाडौँ महानगरपालिका–३ स्थित सत्कार सहकारी संस्था लिमिटेड, वडा नम्बर १५ को अमृताम्भ बचत तथा ऋण सहकारी संस्था, वडा नम्बर २२ को हिराखुसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, वडा नम्बर ३२ को मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नवल सवल बचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा पञ्चरूपा बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन्।

महानगरका अनुसार यी सहकारी संस्थाहरूले विभिन्न व्यक्तिका घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएका थिए। न्यायिक समितिले गत चैतदेखि यस वर्षको जेठ पहिलो सातासम्म विभिन्न मितिमा ती कार्यालयहरू खाली गराउनुपर्ने फैसला सुनाएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖