• Tuesday 6th of October 2026

एभरेष्ट कलरको आईपीओ बिक्री खुला, आजदेखि सर्वसाधारणले आवेदन दिन सक्ने


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ जेठ । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि ६ लाख ५५ हजार ७ सय कित्ता सेयरमा आवेदन लिन सुरु गरेको हो।

यसअघि पहिलो चरणअन्तर्गत कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि वैशाख १६ गतेदेखि २२ गतेसम्म ७९ हजार कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको थियो। सो प्रक्रिया सम्पन्न भएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरिएको हो।

कम्पनीले जारी पूँजीको एक हिस्सा सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याएको छ। निष्कासित सेयरमध्ये ३९ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि तथा १५ हजार ८ सय कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्स्यूअर रेटिङ’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

आईपीओमा आवेदन दिने अवधि छिटोमा जेठ २७ गतेसम्म रहनेछ। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा बिक्री अवधि असार ५ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदनको सुविधा पनि उपलब्ध रहेको छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖