चितवन, जेठ २३ — नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः वृद्धि गरेको छ। सङ्घले आजदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीहरूको सुझाव, परामर्श र सिफारिसका आधारमा चितवनलाई आधार क्षेत्र मानी नयाँ मूल्य निर्धारण गरिएको हो।
नयाँ समर्थन मूल्य (प्रति क्रेट ३० वटा)
एक्सएल अण्डा : रु ५६०
ठूलो अण्डा : रु ५४५
मिडियम अण्डा : रु ५१५
सानो अण्डा : प्रतिपेटी रु ३,०००
नयाँ मूल्यअनुसार खुद्रा बजारमा अण्डाको मूल्य प्रतिगोटा करिब रु २५ पुगेको छ।
अध्यक्ष पोखरेलले गर्मीयामका कारण उत्पादनमा आएको कमी, बजारमा बढ्दो माग तथा किसानको उत्पादन लागत वृद्धिलाई ध्यानमा राखेर मूल्य समायोजन गरिएको बताए। सङ्घले सबै व्यवसायी तथा सरोकारवालालाई तोकिएको मूल्यअनुसार कारोबार गर्न आग्रह गरेको छ।
पछिल्लो एक महिनामा अण्डाको मूल्य उल्लेख्य रूपमा बढेको छ। वैशाख २४ गते एक्सएल अण्डाको मूल्य प्रतिकरेट रु ४६५ रहेकामा अहिले रु ५६० पुगेको छ, जुन करिब २० प्रतिशत वृद्धि हो। त्यस्तै ठूलो, मिडियम र सानो अण्डाको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ।
सङ्घका अनुसार पछिल्ला साताहरूमा उत्पादन घट्नु, आन्तरिक बजारमा माग बढ्नु, पर्यटक आगमनमा वृद्धि हुनु तथा सीमा क्षेत्रमा अण्डाको आयात–ओसारपसारमा कडाइ गरिनुले मूल्य बढ्न सहयोग पुगेको हो।
हाल अण्डाको उत्पादन लागत प्रतिगोटा रु १९.१२ रहेको बताउँदै अध्यक्ष पोखरेलले लामो समयपछि किसानले लागत नजिकको मूल्य पाउन थालेको बताए। उनले उत्पादन लागत नियन्त्रण, बजार व्यवस्थापन र नीतिगत सहयोगका लागि सरकारी निकायको भूमिका आवश्यक रहेकोमा पनि जोड दिए।
किसानहरूले अहिले केही राहत महसुस गरे पनि दीर्घकालीन रूपमा उत्पादन लागत घटाउने र बजारलाई व्यवस्थित बनाउने नीति आवश्यक रहेको सङ्घको भनाइ छ।
