धनकुटा,२९ जेठ । कोशी लोकमार्ग अन्तर्गत धनकुटा नगरपालिका–९ च्याङच्याङबारी स्थित मूलघाट क्षेत्रमा शुक्रबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
संखुवासभाबाट धरानतर्फ जाँदै गरेको को १ ख ७७८८ नम्बरको बस दिउँसो करिब २:४० बजे अचानक अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मूलघाटबाट प्रहरी सहायक निरीक्षक हरीकुमार राईको कमाण्डमा ४ जनाको टोली तथा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा १३ जनाको थप टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाएको जनाएको छ।
दुर्घटनामा धरान उपमहानगरपालिका–११ की २८ वर्षीया सबिता थापा, उनकी १६ वर्षीया छोरा आरुस बस्नेत, सुन्दरहरैँचा नगरपालिका–११ की २६ वर्षीया अमृता तामाङ, उनकी ३ वर्षीया छोरी सृयान्सी तामाङ, धर्मदेवी नगरपालिका–१ की ३४ वर्षीया अनिसा कटुवाल, महालक्ष्मी नगरपालिका–६ की २५ वर्षीया सङ्गीता राई, धर्मदेवी–१ की ११ वर्षीया पवित्रा कटुवाल, कानेपोखरी गाउँपालिका–६ का ४७ वर्षीय चक्रबहादुर तामाङ, धर्मदेवी नगरपालिका–३ की १५ वर्षीया संजिला खत्री तथा बसका सहचालक धर्मदेवी–१ का ३५ वर्षीय इन्द्रबहादुर तामाङ र संखुवासभा धर्मदेवी १ की अन्दाजी ५० बर्षिया देविमाता कार्की घाइते भएका छन्।
घाइतेमध्ये अधिकांशको हातखुट्टा र टाउकोमा सामान्य चोट लागेको छ भने अमृता तामाङको टाउको तथा अनुहारमा चोट लागेकाले उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छ।
दुर्घटनापछि केही समय प्रभावित बनेको सडक हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
