नयाँ दिल्ली । मनोरञ्जन क्षेत्रमा सक्रिय अनाया बांगरले लिङ्ग परिवर्तन शल्यक्रियापछिको आफ्नो स्वास्थ्य अवस्था र अनुभवबारे खुलेर कुरा गरेकी छन्।
हालै इन्स्टाग्राममार्फत प्रशंसकहरूसँग प्रश्नोत्तर सत्र सञ्चालन गरेकी अनायालाई एक प्रयोगकर्ताले शल्यक्रियापछि स्वास्थ्य अवस्था कस्तो छ भनेर सोधेका थिए। त्यसको जवाफमा उनले आफू अझै पनि शल्यक्रियापछिको स्वास्थ्य सुधार प्रक्रियामा रहेको बताएकी छन्।
“म अझै पनि शल्यक्रियापछि निको हुने प्रक्रियामा छु। बिस्तारै सामान्य दिनचर्यामा फर्किने प्रयास गरिरहेकी छु र पूर्ण रूपमा सामान्य जीवनमा फर्किने क्षणको प्रतीक्षामा छु,” उनले लेखेकी छन्।
अनाया केही समयअघि मात्र लिङ्ग परिवर्तन शल्यक्रिया सम्पन्न गरी ट्रान्सजेन्डर महिलाका रूपमा आफ्नो नयाँ जीवनयात्रा सुरु गरेकी हुन्। शल्यक्रियापछि उनले अस्पतालबाट सार्वजनिक गरेको एक भिडियोमा स्वास्थ्य अवस्थाका कारण कठिनाइका साथ हिँडिरहेको देखिएकी थिइन्।
यसअघि ‘आर्यन’ नामले परिचित अनायाले आफ्नो लैङ्गिक पहिचानलाई स्वीकार गर्न लामो समय संघर्ष गर्नुपरेको बताउँदै आएकी छन्। उनका अनुसार यो परिवर्तन तत्कालको निर्णय नभई आत्मस्वीकार, सोचविचार र साहसको परिणाम हो।
हाल उनी आफ्नो नयाँ पहिचानका साथ व्यक्तिगत तथा व्यावसायिक जीवनलाई अगाडि बढाइरहेकी छन्।
