काठमाडौं । मोबाइलमा आएको शंकास्पद लिंकमा क्लिक गर्दा काठमाडौंका सुजन खनालको बैंक खाताबाट २५ लाख ४४ हजार १०० रुपैयाँ चोरी भएको घटनामा दुई जनाविरुद्ध ठगी मुद्दा दायर गरिएको छ।
नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सप्तरीका २० वर्षीय आकाशकुमार पासवान र सिरहाका २३ वर्षीय चन्देश्वर महतोविरुद्ध ठगी कसुरमा अभियोग दर्ता गरेको हो। दुवै जना हाल फरार रहेको प्रहरीले जनाएको छ।
अनुसन्धानअनुसार २०८२ जेठ २९ गते खनालको मोबाइलमा ‘THE_ALERT’ नामबाट सन्देश आएको थियो। सन्देशमा ‘कनेक्ट आईपीएस खाता सुरक्षाका कारण रोक्का गरिएको छ’ भन्दै एउटा लिंक पठाइएको थियो। उक्त लिंकमा क्लिक गरी बैंकिङ विवरण प्रविष्ट गरेपछि साइबर अपराधीहरूले उनको खातामा अनधिकृत पहुँच बनाएका थिए।
त्यसपछि रातिको समयमा राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकमा रहेको रकम विभिन्न चरणमा नेपाल एसबीआई बैंकमा रहेको आकाशकुमार पासवानको खातामा पठाइएको थियो। भोलिपल्ट पुनः राष्ट्रिय वाणिज्य बैंकको खाताबाट १३ लाख ७० हजार रुपैयाँ चन्देश्वर महतोको लक्ष्मी सनराइज बैंक खातामा ट्रान्सफर गरिएको प्रहरीले जनाएको छ।
मोबाइल जाँच गर्दा मात्रै खनालले आफ्नो खाताबाट कुल २५ लाख ४४ हजार १०० रुपैयाँ गायब भएको थाहा पाएका थिए।
प्रहरीले दुवै आरोपितविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी कसुरमा मुद्दा चलाएको छ। दोषी ठहर भएमा ७ वर्षसम्म कैद, ७० हजार रुपैयाँसम्म जरिवाना तथा पीडितलाई पूर्ण क्षतिपूर्ति भराउने माग गरिएको छ। फरार रहेका आरोपितहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
